असोज, १८, महोत्तरी
जिल्लाको बर्दिवास नगरपालिकाक्षेत्रमा मात्र दुई दिन अघि देखापरेको डेंगु रोगका बिरामीको संख्या बढ्दै जाँदा बुधवारबाट सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरिएको छ । ३९ जनामा डेंगु रोगको संक्रमण देखिएपछि स्वास्थ्य टोलीले बर्दिवास नगरपालिका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको अगुवाईमा सुरक्षाकर्मी लगायत विभिन्न सरोकारवाल निकाय सहितको टोलीद्वारा उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डाक्टर नागेन्द्र यादवले बताए । उनले डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको लागि बर्दिवास नगरपालिका क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने कार्यलाई तिब्रता दिएको बताए । पानी जम्ने ठाउँमा लामखुट्टे बढी मात्रामा हुने हुनाले त्यस्तो ठाउँको खोजतलास गरी लामखुट्टे नष्ट गर्ने कार्यलाई तिब्रता दिएको डाक्टर यादवले बताए । बर्दिवासका स्थानीय बासिन्दामा मात्रै २६ जना र धनुषा तथा सिन्धुलीका १३ जनामा डेंगु रोग देखा परे पछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि उक्त कार्यक्रम संचालन गरेको हो ।
त्यसैगरि धादिङ जिल्लाको धादिङबेँसी सहित आसपास क्षेत्रमा डेंगु रोग फैलिएर महामारीको रुप लिन थालेपछि त्यसक्षेत्रमा स्वास्थ्यकर्मी सहितको २० वटा टोली परिचालन गरिएको छ । महामारी नियन्त्रण विभागको टोली र जिल्ला स्वास्थ्य कार्यालय धादिङ सहित सरोकारवाला निकायको संयुक्त बैठकले डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि २० वटा टोली परिचालन गर्न निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले बताए । टोलीले लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने तथा डेंगु संक्रमणको संका लागेका ब्यक्तिलाई आवश्यक सल्लाह सुझाव दिने धादिङका प्रमुख श्रेष्ठले बताए । एक साताको अवधिमा डेंगु रोगका २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।





























प्रतिक्रिया