‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’

‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ८ असोज ।

नेकपा ९एमाले०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताएका छन् ।

सुनौलो प्रेस क्लब एण्ड मिडिया प्रा.लि., भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले प्रदेश नं २ को निर्वाचनमा एमालेविरुद्ध सबै दल मिलेर एक्ल्याए पनि अन्ततः एमालेले पाएको नतिजामा सन्तोष गर्ने ठाउँ रहेको बताए ।

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल भएको चर्चा गर्दै उनले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेर एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।

खनालले भने, “नेपालमा कोही पनि ठूल्दाइ र सानोभाइ छैनन्, सबै समान छन्, कसैले आफूलाई ठूल्दाइ नसम्झे हुन्छ ।” विश्वका सबै देशसँग नेपालको समान सम्बन्ध रहेको भन्दै दुई छिमेकी मुलुक चीन र भारतसँग पनि समान सम्बन्ध रहेको उनको भनाइ थियो ।

संविधानसभाले संविधान निर्माण गरी कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको भन्दै खनालले नेपाली जनताले देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा सुम्पिएको जिकिर गरे ।

अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न सबै राजनीतिक दल जुटेर देश विकास गर्नुपर्नेमा जोड दिँदै उनले संविधान कार्यान्वयनसँगै देशले विकासमा फड्को मार्ने बताए ।

संस्थाका अध्यक्ष जीवन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको थियो । रासस

Skip This
Skip This
Logo