डडेल्धुरा,४, असोज
डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँ स्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । मंगलबार स्थानीयले इलाका वन कार्यालय, इलाका प्रहरी र इलाका प्रशासनलाई जानकारी गराएपछि जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालय जोगबुढाबाट चितुवाको उद्धारमा खटिएको टोलीको सहयोगमा पासोमा फसेको चितुवालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी गराए ।
चितुवालाई मंगलबार नै गाडीमा तारजाली भित्र सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्नका लागि लगिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए । थोरै संख्यामा रहेको लोपोन्मुख जनावर चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लालढुंगा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो । कृषकले जंगली जनावरबाट खेतबारी जोगाउनका लागि थापेको पासोमा सोमबार राति चितुवा परेको स्थानीयको भनाइ रहेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले पासोमा चितुवा परेको थाहा पाएपछि इलाका वन कार्यालय र प्रहरी कार्यालय तथा इलाका प्रशासन कार्यालय जोगबुढालाई जानकारी गराएका हुन् ।
रासस





























प्रतिक्रिया