असोज, २, काठमाडौं
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिने क्रममा हिजो साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महरा त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ३ गते न्युयोर्क प्रस्थान छन् ।
परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ । उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधन समेत गर्नेछन् । उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरेसद्वारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
रासस































प्रतिक्रिया