केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ असोज ।
निर्वाचन अघि नै प्रमु्ख विपक्षी दल नेकपा एमालेले जितेमा को मुख्यमन्त्री हुनेछ भन्ने कुरा जनताले थाहा पाउन् भनेर भावी मुख्यमन्त्रीकै कमाण्डमा चुनाव लड्ने रणनीति बनाउँदै एमालेले सातवटै प्रदेशका भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेर प्रदेश सभाको निर्वाचन लड्ने भएको छ ।
एमालेले मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्रीकै उम्मेदवार पनि पहिले नै तोकेर संघीय निर्वाचनमा जाने तयारी गर्दै छ ।
असोज ६ गतेदेखि काठमाडौंमा शुरु हुने केन्द्रीय कमिटी बैठकमा भावी मुख्यमन्त्रीका रुपमा कुन प्रदेशमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुँदै छ ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केही समयपहिले नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने बताएका थिए । अब केन्द्रीय कमिटीले प्रधानमन्त्री र ७ प्रदेशका मुख्यमन्त्रीका उम्मेदवार तोक्ने सम्भावना छ ।
मुख्यमन्त्रीका दाबेदार नेताहरु प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि एमालेले यसबारे आन्तरिक छलफल थालेको नेताहरु बताउँछन् । सकेसम्म पदाधिकारी र स्थायी कमिटी सदस्य तहकै नेतालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ ।
तर, प्रदेश ६ मा एमालेका स्थायी कमिटी सदस्य छैनन् । त्यहाँ पोलिटब्यूरो सदस्यबाटै मुख्यमन्त्रीको उम्मेदवार तय गरिनेछ । त्यस्तै कतिपय प्रदेशमा आवश्यकता र व्यक्तित्व हेरेर स्थायी कमिटी सदस्यभन्दा तलबाट पनि मुख्यमन्त्रीको उम्मेदवार बनाउन सकिने सम्भावना पनि व्यक्त गरिँदै छ ।
केपी ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका योगेश भट्टराईले आफ्नो मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ६ बाट ताप्लेजुङ सारेका छन् ।
प्रतिनिधिसभा चुनाव लड्नका लागि उनले मतदाता नामावली जहाँ राखे पनि हुन्थ्यो । तर, प्रदेशको मुख्यमन्त्री बन्न सो प्रदेशको प्रदेश सभा सदस्य हुनैपर्ने संवैधानिक बाध्यताका कारण योगेशले मतदाता नामावली सारेको चर्चा एमाले वृत्तमा छ ।
योगेशको नाम मुख्यमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाँदा सोलुखुम्बुदेखि ताप्लेजुङसम्म एक खालको माहौल आउने आशा एमाले पंक्तिको छ ।
मुख्यमन्त्रीका लागि प्रदेश १ एमाले सम्भावित मुख्यमन्त्रीको उम्मेदवारका रूपमा भीम आचार्य, योगेश भट्टराई र शेरधन राई दावेदार हुन् ।
यसैगरी प्रदेश २ बाट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी र केन्द्रीय सदस्य रघुवीर महासेठ एमाले मुख्यमन्त्रीका दाबेदार देखिएका छन् ।
प्रदेश ३ बाट मुख्यमन्त्रीका लागि पदाधिकारीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एकमात्र दाबेदार हुन् । पार्टी महासचिव ईश्वर पोखरेल मुख्यमन्त्रीको दाबेदार बन्ने सम्भावना नरहेको बताइन्छ । शाक्यबाहेक केन्द्रीय सदस्य शेरबहादुर तामाङ पनि मुख्यमन्त्रीको चर्चामा छन् ।
प्रदेश ४ बाट एमालेले पार्टी सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य किरण गुरुङमध्ये एकलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने चर्चा सुनिन्छ । विकास समितिका सभापति रविन्द्र अधिकारी पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार मानिएका छन् ।
प्रदेश ५ बाट एमालेका सम्भावित मुख्यमन्त्री उम्मेदवारमा उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा छविलाल विश्वकर्मामध्येबाट कोही उक हुन ।
प्रदेश ६ बाट पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, प्रदेश सहसंयोजक यमलाल कँडेल र पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटी मुख्यमन्त्रीका दाबेदार मानिएका छन् ।
प्रदेश ७ को भावी मुख्यमन्त्रीमा उपाध्यक्ष भीम रावल, पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा र पूर्वमन्त्री भानुभक्त जोशीको नाम चर्चामा छ ।
एमालेको केन्द्रीय कमिटीले मुख्यमन्त्रीको उम्मेदबारबारे छलफल गरे पनि अन्तिम निर्णय गर्ने अधिकार सम्भवतः स्थायी कमिटीलाई दिनेछ । स्थायी कमिटीलेको नेता प्रदेशमा लड्ने र को प्रतिनिधिसभा सदस्य लड्ने भन्ने तय गर्ने छ ।
यसपटक पार्टीका बरिष्ठ नेता वा महासचिव तहका नेता प्रत्यक्ष चुनाव नलडी चुनावको कमाण्ड गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।































प्रतिक्रिया