तीन करोड ३९ लाख प्रतिबन्धित भारु बरामद

तीन करोड ३९ लाख प्रतिबन्धित भारु बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३० भदौ ।  भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए ।

‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैंकमा जम्मा गर्ने सुविधा दिइएको थियो । 

८ जेठ ०७४ मा भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक्ट, थाना पोस्ट अफिस रोहतक ८१३ वडा २, इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनीको साथबाट प्रहरीले ५० लाख ५० हजार रुपैयाँको प्रतिबन्धित नोट बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा सोनीले उक्त रकम दिल्लीको चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले पठाएको बताए । डेराबाट पक्राउ परेका उनी ४ जेठमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका थिए । उनले आफू काठमाडौंमा पुराना टायर मर्मतको काम गर्दै आएको बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको विवरणका आधारमा थप अनुसन्धान गरेर विभागले मुद्दा दर्ता गर्दै आएको छ ।

दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित पक्राउ परेका अंकुर अग्रवाल र दिनेश अग्रवालले काठमाडौंंमा सटही हुने सुनेकाले भारतबाट विमल मेहतासँग मागेर ल्याएको बयान दिएका छन् । नेपाली र भारतीयसहित १४ जनाको समूह मिलेर भारतबाट ल्याएको नोट गैरीघाटस्थित कमला भण्डारीको डेराबाट बरामद भएको थियो ।

१५ असार ०७४ मा प्रहरीले सुरक्षा जाँच गर्दा बुद्धनगरबाट पाँच लाख भारुसहित गणेश घिमिरे र तीर्थ पोखरेल पक्राउ परेका थिए । नेपालमा कस्मेटिक सामान आयात गर्दै आएका उनीहरूले भारतमा सस्तो मूल्यमा पाएका कारण भारु ल्याएको बताएका थिए । नेपालमा साट्न सकिन्छ भन्ने सोचका साथ उनीहरूले भारु ल्याएका थिए । विभागका सूचना अधिकारी थपलिया अहिले पनि नेपालमा साटिन्छ भन्दै प्रतिबन्धित भारु ल्याउने क्रम जारी रहेको बताउँछन् । अन्नपुर्ण पोष्ट

Skip This
Skip This
Logo