गैरन्यायिक रुपमा सडक विस्तार गरेको भन्दै माइतीघरमा लगातार प्रदर्शन

गैरन्यायिक रुपमा सडक विस्तार गरेको भन्दै माइतीघरमा लगातार प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २१ भदौ ।

सरकारले गैरन्यायिक रूपमा सडक विस्तार गर्न लागेको आरोप लगाउँदै सम्बन्धित नागरिकहरूले बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाइमा भएको विरोध कार्यक्रममा आन्दोलनकारीहरू प्लेकार्डसहित नारा लगाउँदै प्रदर्शनमा उत्रेका थिए ।

प्रदर्शनकारीहरूले आइएलओ १६९ पालना गर, गैरन्यायिक सडक बिस्तार बन्द गर, सडक बिस्तारको नाममा जातीय नरसंहर बन्द गर, डोजर आतंक बन्द गर आदि नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा समितिका अध्यक्ष सुमन सायमीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने गराउने दाायित्व राज्यको भएको तर अदालतद्वारा घर भत्काउने कार्य रोक्नका लागि अन्तरिम आदेश जारी भए पनि डोजर चलाइएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले पीडितहरूलाई सहमतिमा ल्याई घरजग्गाको पर्याप्त तथा चलनचल्तीको बजार मूल्य अनुसारको मुआब्जाको कुनै आधार नै तय नगरी अदालतको अन्तरिम आदेशको समेत पालना नगरी केही दिनयता अन्धाधुन्ध रुपमा डोजर आतंक फैलाइएकाले उपत्यकावासी त्रसित भएको पनि बताए ।

उनले सडक बिस्तार गर्दा विभिन्न कानुनी प्रक्रियाहरु पुरा गर्नुपर्ने भए पनि स्वयम् सरकार नै अधिकांश कानुनी प्रक्रियाहरू पूरा नगरी सडक बिस्तारमा लागेको बताए ।

प्रदर्शनमा करिब ५ सय भन्दा बढी व्यक्ति सहभागी रहेको आयोजकले जनाएको छ । प्रदर्शनकारीहरू नारा जुलुस गरिरहेका बेला बिहान ११ः३० बजेदेखि माइतीघर तथा आसपासको क्षेत्रमा व्यापक स्तरमा प्रहरी परिचालन गरिएको थियो ।

स्मरणीय छ, पछिल्ला केही दिनदेखि खासगरी गोदावरी क्षेत्रसमेतका बासिन्दा नियमित रूपले बिहान कार्यालय समयमा माइतीघर क्षेत्रमा भेला हुने, प्लेकार्ड प्रदर्शन गर्ने, नारा लगाउने र भाषण गर्ने गर्दै आइरहेका छन् ।

 

Skip This
Skip This
Logo