बनेपा, १९ भदौ
जिल्लामा हाल सम्म पुनःनिर्माणका लागि १३१ घरपरिवारले मात्र तेस्रो किस्ताको रकम लिएका छन ।
भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ता बापत एक लाख ५० हजार र तेस्रो किस्ता बापत रु एक लाख गरी कूल तीन लाख लिएका हुन् । जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम दर्ता गरेका छन् । ती मध्ये ६३ हजार ८७० ले पहिलो किस्ता बापतको ५० हजार लगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय धुलिखेलले जनाएको छ । तर पनि भूकम्पपीडितले आवास निर्माण गरेका छैनन् ।
सो कार्यालयका प्रमुख ध्रुव गैडाले आवास निर्माण प्रक्रिया सुस्त भएको उल्लेख गर्दै विभिन्न कारणले पुनःनिर्माण प्रक्रिया तीव्र हुन नसकेको बताए । उनले आठ हजार ५३३ जनाले आवास निर्माणको काम शुरु गरेको जानकारी दिँदै पहिलो किस्ताको रकम लगेर घरको जग निर्माण नै नगर्ने करिब ५५ हजार लाभग्राही भएको बताए । प्राधिकरणका प्रमुख गैडाले जिल्लामा ११ हजार दुई जनाले आफूखुशी घर बनाएको भन्दै रकम दिन अस्वीकार गरेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्ड विपरीत निर्माण भएका घर सिफारिसमा नपर्ने बताए । जिल्लामा पानीको अभाव, समयमै इञ्जिनियर घर बनाउन गाउँ नगएको लगायतका कारणले पुनःनिर्माण प्रभावित भएको बताइएको छ । काभ्रेमा लाभग्राहीको संख्या ६९ हजार ४३१ रहेको छ भने अनुदान सम्झौता भएकाको संख्या ६३ हजार ५११ रहेको छ । रासस





























प्रतिक्रिया