राजविराज, १८ भदौ
सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धा सहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिएका छन् । एलायन्स फोर रिलिफको सहयोगमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ डाक्टरको एक टोलीले त्यहाँ रहेका बाढीपीडितलाई स्वास्थ्य उपचारपछि निःशुल्क औषधि वितरण गरेको हो ।
प्रतिष्ठानबाट आएको टोलीले आँखा, कान, नाक, छाला, दाँत र हाड जोर्नी सम्बन्धी रोगको उपचार गरेको सोही कार्यक्रममा सहभागी महेन्द्र सदाले जानकारी दिए । यस्तै एलायन्स फर रिलिफको सहयोग र सन्दीप सदाको पहलमा त्यहाँ रहेका ५० जना बाढीपीडितलाई सोलार टर्च लाइट र २०० जनालाई झुल वितरण समेत गरिएको छ । यसैगरी सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं पीडित भएका परिवारलाई विभिन्न सङ्घसंस्थाले शनिबार राहत वितरण गरेका छन् । वाइसिएल नेपाल केन्द्रीय समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ३ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेको हो । वाइसिएल केन्द्रीय समिति र जनप्रगतिशील मञ्चले संकलन गरेको राहत प्रत्येक बाढीपीडित परिवारलाई १५ किलो चामल, एक किलो दाल, आधा लिटर खाने तेल र एक किलोका दरले नून वितरण गरिएको वाइसिएल सप्तरी संयोजक विनोदकुमार यादवले जानकारी दिए । रासस































प्रतिक्रिया