भाद्र १८,काठमाडौं
त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ ।
काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो । सम्बन्धन दिइएको सो कलेज शिक्षण अस्पतालका रुपमा पनि स्वीकृति प्राप्त नरहेको भन्ने स्वास्थ्य मन्त्रालयको पत्र र सम्बन्धनको निर्णयमा प्रचलित कानुन र मापदण्ड बमोजिम समीक्षा गर्न शिक्षा मन्त्रालयको निर्देशनपछि विश्वविद्यालयले सो निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सो कलेजले शिक्षण अस्पतालको अनुमति नलिइएको, आवश्यक पूर्वाधार नभएको र मापदण्ड पूरा नभएकाले सम्बन्धन खारेज गरी सहयोग गर्न त्रिविलाई आग्रह गरेको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको उक्त जानकारीपछि सम्बन्धन र उक्त कलेजका विषयमा सत्यतथ्य पत्ता लगाउन नेपाल ल क्याम्पसका प्राध्यापक डा. सनत देवकोटाको संयोजकत्वमा छानविन समिति पनि गठन गरेको छ । विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले छानविन समितिले एक साताभित्र प्रतिवेदन दिएपछि अर्को निर्णय गरिने बताए । समितिको सदस्यमा त्रिविका प्रशासक परशुराम कोइराला र चिकित्सक डा. प्रभासचन्द्र भट्ट रहेका छन् । त्रिविको कार्यकारी परिषद्ले डा. केसी पछिल्लो समयमा आमरण अनशनमा रहेकै बेला गत साउन २२ मा सो सम्बन्धन दिएको थियो । खनियाँले विवाद उठेपछि आफूहरुले नै त्यसबारे स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको बताए । रासस































प्रतिक्रिया