– ज्ञानमणि नेपाल कालोटोपी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १५ किलो सुनसहित भदौ १५ गते सातजनालाई पक्राउ गर्यो । चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये १५ किलो मात्रै बरामद भएको हो । सामाखुसीबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिइएको हो । २२ किलो सुन स्टोर गरेर थोरै परिमाणमा बाहिरिँदै गरेको सूचनाका आधारमा प्रहरीले सामाखुसीमा छापा मार्दा १४ किलो बरामद भएको थियो भने १ किलो भारततर्फ निकासी हुँदै गरेको अवस्थामा जनकपुरबाट बरामद भएको हो ।
‘२ किलो काठमाडौं वरिपरि भएको सूचना छ, २ किलो सीमापारि पुगिसकेको सूचना छ भने बाँकी ३ किलोको विषयमा पनि नेपाल भित्रै भएको सूचना छ,’ सिआइबी प्रमुख डिआइजी पुष्कर कार्की भन्छन् ।
नेपालमा सुन तस्करी हुनु अब नयाँ कुरा रहेन । बहुमूल्य पहेंलो धातु सुन अहिलेसम्म नेपालमा उत्खनन भएको छैन । यसका लागि नेपाल बाहिरी मुलुकबाट आयातमा भर पर्नु परेको छ । सुन खरिदका लागि अर्बौं रुपैयाँ विदेश पठाउनु हाम्रो बाध्यता हो । हुन त नेपालकै केही ठाउँमा सुन खानीको सम्भाव्यता रहेको अनुमान गरिएको छ । तर त्यसको उत्खनन् गर्न भने धेरै पैसा र दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पर्छ जुन नेपालका हालसम्म उपलब्ध छैन ।
पछिल्लो एक तथ्यांकअनुसार नेपालमा बर्सेनी करिब ३० अर्ब रुपैयाँभन्दा धेरैको सुन खरिदिने गरिएको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५४ हजारभन्दा माथि छ । अहिले दैनिक २० केजी सुन खपत हुन्छ । तर विगतको भन्दा यो झण्डै एकतिहाइले कमी हो । सुनको मूल्यमा उतार चढाव भए पनि यसमा लगानी गर्नेहरूको भने कमी छैन ।
पछिल्ला दिनहरूमा नेपाली बजारमा भन्सार छलेर ल्याइएको सुन बिक्री वितरण हुन थालेको र यसले गर्दा बैंकहरूले खरिद गरेर ल्याएको सुनको परिमाण धेरै मात्रामा थन्किएको छ । २ वर्ष अघिसम्म दैनिक ३५ केजीसम्म सुनको खपत हुने गरेको र अहिले घटेर २० केजीमा झर्नुको मुख्य कारण नै अवैध सुनको आयात भएको पाइए पनि यसको नियन्त्रण भने हुन सकेको छैन । अहिले पनि अवैध बाटो हुँदै सुन भित्रिइरहेको छ ।
गत ६ वर्ष यता नेपालमा वैधानिक रूपमा भित्रिएको सुनको मूल्य ९९ अर्ब १४ करोड रुपैयाँ छ । तर अवैध रूपमा सोही अवधिमा कति सुन भित्रियो, त्यो कसैलाई पनि थाहा छैन । आर्थिक वर्ष ०६८-०६९ मा २५ अर्ब ७७ करोड मूल्य बराबरको सुन वैधानिक रूपमा भित्रिएको थियो । त्यस्तै ०६९-०७० मा २६ अर्ब ११ करोड र ०७०-०७१ मा २४ अर्ब ७९ करोड मूल्यको सुन भित्रियो । ०७१-०७२ मा भूकम्पका कारण खासै सुनको आयात हुन सकेन । यस वर्ष ६ अर्ब ३८ करोड मूल्य बराबरको अर्थात् १ हजार ६५० केजी मात्र सुन आयात गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७२-०७३ मा पनि भूकम्प र नाकाबन्दीका कारण पहिले जस्तो सुन आयात भएन । यस वर्ष १६ अर्ब ७ करोड रुपैयाँ बराबरको अर्थात् ४ हजार १ सय केजी सुन आयात भएको तथ्यांकले देखाउँछ । ०७३-०७४ मा ३२ अर्ब १३ करोड अर्थात् ६ हजार ४५५ केजी सुन वैधानिक बाटोबाट नेपाल भित्रिएको थियो ।
यो समय अवधिमा नेपालमा अवैध बाटो हुँदै सुनको आयात पनि उच्च भएको हुन सक्ने अनुमान गरिएको छ । बेला बेलामा तस्करीको सुन बरामद भएका खबर आएसँगै यस्तो सुन बजार भित्रिएको अनुमान गरिएको हो । बरामद भएको सुन धेरैजसो चीनसँग सम्पर्क जोड्ने प्रमुख उत्तरी नाका तातोपानी हुँदै भित्रिएको पाइएको छ । पछिल्ला दिनहरूमा सुन तस्करहरूको ट्रान्जिट प्वाइन्ट बन्दै आएको तातोपानी नाका अहिले यस्ता घटनाहरू सुन्नमा केही कमी आएको भए पनि यो क्रम रोकिएको छैन ।
सुन तस्करी केही घटेको अनुमान लगाइएको भए पनि यस्तो सुन बरामद नहुनुमा अरू पनि कारण हुनसक्छ । खासमा अवैध सुन भित्रिन छोडेको छैन । यस्तो सुनको सुराकी दिने र पक्राउ गर्ने व्यक्ति र समूहलाई सरकारले प्रोत्साहन बापत विगतमा ३० प्रतिशत भन्दा धेरै दिने गरेको थियो । अहिले त्यस्तो प्रोत्साहन बापतको पारिश्रमिकमा सरकारले कडाइ गरेको छ । त्यसैले अवैध सुन बरामद हुन छोडेको प्रहरीले अनुमान गरेको छ ।
विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर नेपाल ल्याउने गरेको सुन प्रहरीले विभिन्न स्थानबाट बरामद गर्ने क्रमसँगै तातोपानी सुन तस्करहरूको ट्रान्जिट प्वाइन्टका रूपमा चिनिँदै आएको थियो । ०७१ मंसिर महिनादेखि माघसम्म मात्र झण्डै ४५ किलोग्रामभन्दा बढी अवैध सुन बरामद भयो ।
पुरानो इतिहास हेर्ने हो भने पञ्चायतकालमा पनि सुन तस्करी हुने गरेको थियो । तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रबिसेबाट ०५८ सालको पुस २३ मा पहिलोपटक १ किलो सुन प्रहरीले बरामद गरेको थियो । त्यस यता सोही नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा २५ भन्दा धेरै पटक बरामद भइसकेको छ । त्यस नाकाबाट ०७१ माघसम्म करिब २ सय किलो सुन अवैध रूपमा नेपाल ल्याइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । ०७१ पछि अहिलेसम्म थप १ सय ५० केजी सुन बरामद भएको थियो ।
तातोपानीमा मात्र होइन, पछिल्ला दिनहरूमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पनि सुन तस्करी हुने क्रम बढेको छ । यहाँबाट ०७२ माघ २१ गते १२ केजी सुन बरामद गरिएको थियो । गत वर्ष बरामद भएको ३३ केजी सुनकाण्ड त अझै पनि सेलाएको छैन । वीरगञ्ज भन्सारलगायत देशका अन्य नाकाहरूबाट पनि अवैध सुन नेपाल भित्रिने क्रम रोकिएको छैन । यसरी भित्रिएको सुन व्यापारीहरूले सस्तोमा खरिद गर्दै आएका छन् । बुझ्नमा आएअनुसार प्रतिकेजी ४ लाख रुपैयाँदेखि ६ लाखसम्म सस्तोमा अवैध सुन खरिद गरी व्यापारीहरूले साबिक मूल्यमै बेच्ने गरेका छन् । यसले गर्दा यतिबेला करिब ४ सय केजी वैधानिक सुन विभिन्न वाणिज्य बैंकहरूमा थुप्रिएको छ ।
अहिले सुन आयातमा सरकारले कडाइ गरेको छ । यसमा लाग्दै आएको भन्सारमा पनि वृद्धि गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरूले विगतमा विनाभन्सार ५० ग्रामसम्म सुन ल्याउन पाउने गरेको भए पनि गत वर्षदेखि १० ग्रामभन्दा धेरै ल्याउन प्रतिबन्ध छ । तैपनि वैधानिक सुनको खपत नबढ्नुले अझै पनि अवैध सुनले बजार पाइरहेको प्रस्ट देखिन्छ ।
सुन अचल सम्पत्ति हो । यसको खरिद न्यून आय भएकाहरूले गर्न कठिन नै छ । नेपालको प्रतिव्यक्ति आय ७६१ डलर छ । यो भनेको दैनिक आवश्यकताका वस्तु जुटाउन पनि अहिलेको महंगीमा धौ–धौ पर्ने अवस्था हो । यस्तो स्थितीमा सुनको खरिद गर्न सर्वसाधारणलाई निकै कठिन पर्छ । सम्पन्न र घरानिया व्यक्तिले मात्र यस्तो वस्तुमा लगानी गर्न सक्छन् तैपनि वार्षिक ३० अर्बसम्मको कारोबार हुनुलाई त्यति बजार खस्किएको मान्नु पनि हुँदैन ।
विलासिताको वस्तुका रूपमा रहेको सुनको खरिद बिक्री यति मात्रामा हुनु नेपालजस्तो मुलुकका लागि सन्तोषजनक रूपमै लिनुपर्ने हुन्छ । तर सुनमा गरिने लगानी कुनै उत्पादनमूलक लगानी भने पक्कै होइन । केही वर्ष विदेश गएर फर्कनेहरू पनि कमाएको पैसा सुन र जग्गामा लगानी गर्छन् । यसले खासै फाइदा भने दिँदैन । त्यसैले लगानी गर्दा छिट्टै प्रतिफल आउने क्षेत्रमा गर्न सक्ने हो भने त्यसले दीर्घकालीन फाइदा पुग्न सक्नेछ । सुनमा बढेको तस्करीतन्त्रलाई कडाइ गर्न सक्ने हो भने यसले देशको अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्ने छ । अवैध सुन रोक्न सके वैधानिक सुनको स्थान उच्च रहन सक्नेछ ।





























प्रतिक्रिया