दोलखा, १२ भदौ
आर्थिक वर्ष २०७४⁄७५ शुरू भएको केही समय भइसक्दा पनि बजेट निकासा नहुँदा अनुदान सम्झौताका लागि प्रक्रिया पुर्याएर आएका १ हजार ५ सय भन्दा बढी भूकम्पपीडितले पुनर्निर्माणका लागि सरकारी अनुदान पाउन सकेका छैनन्।
दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङकी शोभा कार्की अनुदान रकमको पहिलो किस्ता लिन पटकपटक जिल्ला समन्वय समिति र सम्बन्धित बैंकमा धाउँदा पनि रकम पाउन नसकेको गुनासो गर्छिन्। ‘पहिले कागजातहरू पुगेको छैन भनेर फर्काए, अहिले सबै कागजात पूरा गरेर ल्याउँदा पनि कहिले बजेट आएको छैन भन्छन्, कहिले अझै कागजात पूरा भएको छैन भनेर फर्काउँछन्’ –शोभाले भनिन्। नयाँ आर्थिक वर्षमा समयमै भूकम्पपीडितहरूका लागि अनुदान रकम निकासा भएन भने धेरैले टहरामै गुजारा गर्नुपर्ने र शुरू भएका पुनर्निर्माणको काम समेत अलपत्र पर्ने स्थानीय बासिन्दाको भनाइ छ। प्राविधिकको अभाव, तालिम प्राप्त डकर्मीको कमी, निरन्तरको वर्षा लगायतका कारणले अप्ठेरो परेको छ। आर्थिक वर्ष २०७३⁄०७४ मा भूकम्पपीडितले समयमै दोस्रो तथा तेस्रो किस्ता सम्झौता गर्न नसक्दा पुनर्निर्माणका लागि जिल्लामा प्राप्त भएको झण्डै ८५ करोड रुपियाँ फिर्ता भएको थियो। तर चालू आर्थिक वर्ष २०७४⁄०७५ शुरु भएको दुई महिना बितिसक्दा पनि पुनर्निर्माणका लागि बजेट निकासा नहुँदा प्रक्रिया पुर्याएर आएका १ हजार ५ सयभन्दा बढी भूकम्पपीडितसँग अनुदान सम्झौता गर्न नसकिएको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना इकाइ कार्यालय दोलखाका टीका जोशी बताउँछन्।
इकाइ कार्यालयमा पहिलो किस्ताका लागि ७ सय ९९, दोस्रो किस्ताका लागि ६ सय ९९ र तेस्रो किस्ताका लागि २० जना भूकम्प पीडितले प्रक्रिया पूरा गरी निवेदन दिएको भए पनि बजेट निकासा नभएका कारण अनुदान सम्झौता हुन नसकेको जोशीको भनाइ छ। भूकम्पपीडितको प्राप्त निवेदन अनुसार अनुदान सम्झौताका लागि तत्काल १४ करोड ६८ लाख रुपियाँ आवश्यक हुन्छ। दोलखा जिल्लामा शुरुमा पहिचान भएका लाभग्राही (भूकम्पपीडित) संख्या ५१ हजार ९ सय ४० रहेकोमा गुनासो सुनवाइपछि ३ सय २६ घरधुरी थप भएर ५२ हजार २ सय ६६ पुगेको छ। जसमा ०७४ असार मसान्त सम्ममा ४८ हजार ५ सय ६९ लाभग्राहीसँग अनुदान सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले बताए। अनुदान सम्झौता भएका लाभग्राहीमध्ये ४७ हजार ४२ जनाले पहिलो किस्ता, ८ हजार ७ सय ९८ जनाले दोस्रो किस्ता र ५ सय ९१ जनाले तेस्रो किस्ता अनुदान रकम लगिसकेको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना इकाइ कार्यालय दोलखाका टीका जोशीले जानकारी दिए।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया