काठमाडौं , भदौ १२
नेपाल खाद्य संस्थानले खरिद गरेको सिमीमा ढुंगा र बालुवाको पनि थुप्रो छ । संस्थानले टेन्डरबाट ७ सय २० क्विन्टल सिमी खरिद गर्दा ४ क्विन्टल ढुंगा र बालुवा भेटिएको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार संस्थानको थापाथली स्थित बागमती अञ्चल कार्यालय परिसरमा रहेको गोदाममा आकस्मिक अनुगमन गर्दा खरिद गरिएको सिमी केलाउने काम भइरहेको थियो । सिमी केलाउन अनुमानित भन्दा बढी जनशक्ति लागेको ठेकेदार भगवान गिरीले बताए । ‘मैले सिमी केलाएर बोरामा प्याकिङ गर्ने ठेक्का लिएको छु,’ उनले भने, ‘यो सिमी केलाउन ९ सय जना जति लाग्ने अनुमान थियो । तर १ हजार २ सय ७४ जनाले बल्लतल्ल केलाएर सकियो ।’ ढुंगा, बालुवा र धुलो धेरै भएका कारण केलाउन समय लागेको उनले बताए ।
उनले सिमी आपूर्ति गर्ने नभई केलाउने ठेक्का मात्रै लिएका हुन् । संस्थानका एक कर्मचारीले टेन्डरबाट खरिद गरिएको सिमीबाट ४ क्विन्टल ढुंगा, बालुवा निस्किएको बताए । ‘टेन्डर मार्फत ७ सय २० क्विन्टल सिमी खरिदका लागि पैसा भुक्तानी भएको छ तर सिमी त्यति नभई ४ क्विन्टल कम छ,’ ती कर्मचारीले भने, ‘कम भएको ४ क्विन्टल बराबर ढुंगा, बालुवा भेटियो ।’ नयाँपत्रिकाबाट





























प्रतिक्रिया