‘भालु नियन्त्रण गरिपाउँ’ भन्दै जनप्रतिनिधिलाई निबेदनको चाङ

‘भालु नियन्त्रण गरिपाउँ’ भन्दै जनप्रतिनिधिलाई निबेदनको चाङ

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्ब, १० भदौ । सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयले जनप्रतिनिधिलाई निबेदन दिएका छन् । 

जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् । 

वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन दर्ता गराएका हुन् । कृषकको मकैबाली भालुले नष्ट गरेपछि कृषकले निवेदन दिएका हुन् । यस्तै वडा नम्बर– १० का वडाध्यक्ष मिङमार छिरी शेर्पा पनि भालु नियन्त्रणका लागि दर्जन बढी निवेदन आएको बताए । त्यहाँ पनि मकै तथा स्याउमा भालुले क्षति पु¥याएपछि कृषकले निवेदन दिएका हुन् । 

सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न बस्तीसँगै अन्य गाउँपालिकामा पनि भालु तथा बाँदर नियन्त्रण गरिपाउँ भनि कृषकले निवेदन दिने गरेका छन् । यसअघि जंगली जनावरले बालीनाली नष्ट गरेपनि चुपचाप बस्ने गरेका कृषक जनप्रतिनिधि आएपछि नियन्त्रण तथा क्षतिपूर्तिको मागसहित निवेदन दिने गरेका छन् । 

जंगली जनावरबाट मानिस घाइते तथा मानिस वा घरपालुवा जनावरको ज्यान गएमा जिल्ला वन कार्यालयमार्फत राहत तथा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनालीमा यस्तो व्यवस्था गरिएको छैन । अहिले अधिकांश कृषकले कि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

यता मकै तथा स्याउ पाक्न थालेपछि कृषक रातभर ढ्याङ्ग्रो बजाएर बारिमै बस्न थालेका छन् ।

Logo