‘भारत सानो सोचाइ भएको देश’

‘भारत सानो सोचाइ भएको देश’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ भदौं ।

चीन–भुटान–भारतबीच त्रिदेशीय सीमाका रूपमा रहेको ‘डोकलाम विवाद’ प्रति चिनियाँ संचारमाध्यमहरूले सरकारको धारणा प्रस्तुत गरिरहेका छन् । चिनियाँ संचारमाध्यमहरूले डोकलामको सीमा विवादलाई लिएर भारतप्रति कठोर धारणा पस्किरहेका छन् ।

चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले हालै सम्पादकीय मार्फत भनेको छ, ‘भारत सानो सोचाइ भएको देश हो । सीमाको चिनियाँ भूमिमा सडक बनाउँदा दुवै देशलाई फाइदा हुने कुरालाई बुझ्न सकिरहेको छैन । भारतले चीनसँगको शीतयुद्धलाई समाप्त गरोस् र इलाकाको दादा बन्ने आफ्नो सोचलाई त्यागेमा धेरै समस्याको समाधान हुनेछ ।’

डोकलाममा चीनले आफ्नो भूमिमा सडक बनाउन लागेपछि पछिल्लोपटक यो क्षेत्रमा तनाव सिर्जना भएको छ । भारत भुटानलाई समेत साथ लिएर उक्त क्षेत्रमा सडक बनाउन नदिने सोचाइमा छ भने चीन जम्मू–काश्मीरदेखि अरुणाचल प्रदेशसम्मको ३ हजार ४ सय ८८ किलोमिटरसम्मको बोर्डरमा सडक बिस्तार गर्ने सोचाइमा छ ।

चीन सामरिक हिसाबले सडक निर्माण गर्न चाहन्छ भने भारत चीनको बढ्दो प्रभुत्वलाई रोक्न चाहन्छ । यो बाहेक डोकलाममा चीनले सडक बनाएमा युद्धको सामरिक दृष्टिकोणले भारतलाई अप्ठ्यारो अवस्था आउने भारतिय रक्षा विशेषज्ञहरूले जनाएका छन् ।

विवादको सुरुआत
गत १६ जुनमा डोकलाममा चिनियाँ सेनाले सडक बनाउन लागेकोमा भारतीय सेनाले विरोध र अवरोध गरेपछि विवाद सुरु भएको हो । चीनले भारतसँग जोडिएको सबै सीमा क्षेत्रमा सडक बनाएमा सिक्किमको २ सय २० किलोमिटर क्षेत्रमा पनि बनाउने छ । यो क्षेत्रमा सडक निर्माण भएमा सामरिक हिसाबले भारतलाई धेरै अप्ठ्यारो हुने भारतले बुझेको छ । यो क्षेत्रमा सडक बनेमा चिनियाँ सेना भारतको धेरै भित्रसम्म आउने र त्यहीँबाट युद्ध गर्न सक्ने अनुमान भारतले गरेको छ ।

सीमामा रहेका चिनियाँ र भारतीय सेनाबीच विवाद बढ्दै गएपछि बुधवार चुशुल सेक्टरमा फ्ल्याग मिटिङ भएको छ । बैठक दुबै देशका सेनाबीच बढेको तनावलाई कसरी साम्य पार्ने भन्ने विषयमा केन्द्रित भएको थियो । सीमामा बढेको विवाद तत्काल साम्य भए पनि चीन सरकारले उक्त क्षेत्रमा बाटो बढाउने अडान नत्यागेसम्म विवादलाई साम्य भएको मानिने देखिँदैन भने चीन आफ्नो व्यापारिक साम्राज्यलाई बढाउन पनि उक्त क्षेत्रमा बाटो नबनाई छोड्ने वाला पनि छैन ।

वासिङ्गटन पोस्टले के लेख्यो ?
यसैबीच डोकलाम समस्याको विषयलाई लिएर अमेरिकी राजधानी वासिङ्टन डिसीबाट प्रकाशित हुने दैनिक वासिंगटन पोस्टले बिहीबारको अंकमा एउटा रिर्पोट प्रकाशित गर्दै पछिल्ला ३० वर्षमा अहिले भारत र चीन युद्धको धेरै नजिक रहेको उल्लेख गरेको छ । पत्रिकाले दुवै देशसँग अहिले एटमिक हथियार रहेको र कथंकदाचित् युद्ध भएमा सानो देश भुटान पनि त्यसमा फस्ने बताएको छ ।

अखबारका अनुसार, चीन भारतीय सेना आफ्नो भूमिमा प्रवेश गरेको बताइरहेको छ भने भारत चीन ट्राइजक्सनमा बाटो बनाएर आफ्नो सुरक्षालाई खतरामा पारिरहेको बताइरहेको छ ।

वासिङगटन पोस्टले सेक्युरिटी एक्सपर्टहरूको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘चीन आफ्नो भूमिमा सडक बनाएको दावा गरिरहेको छ भने भारत छिमेकी भुटानलाई साथ लिएर उक्त भूभाग भुटानको भएको बताउँदै बाटोले आफ्नो सामरिक दृष्टिले बेफाइदा पुग्ने बताइरहेको छ । चीन भने सडकले यो क्षेत्रमा रहेका सबैलाई फाइदा हुने हुनाले भारतले डोकलामबाट आफ्नो सेना हटाउनु नै राम्रो हुने बताइरहेको छ ।’

‘चीन र भारतबीच एकअर्कामा विश्वासको कमी भने सन् १९५९ देखि आएको हो जतिबेला भारतले तिब्बतका धार्मिक नेता दलाई लामालाई शरण दियो । त्यो बेलादेखि चीनको भारतप्रतिको दृष्टिकोण राम्रो हुनसकेन । सन् १९६२ मा दुवै देशबीच युद्ध पनि भयो ।

‘निर्णय भारतले मात्र गर्न सक्छ’
‘सन् २००४ मा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सत्तामा आएपछि उनको चीनप्रतिको नीतिमा परिवर्तन आयो । उनले चिनियाँ लगानीकर्ताहरूलाई भारतमा भित्राउने वातावरण बनाए जसले गर्दा उनलाई ‘प्रो–चाइनिज’ को आरोप पनि लाग्यो । तर पनि चीनले भारतको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सदस्य बन्ने चाहनामा अड्को थाप्यो र मसुद अजहरलाई संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्धलाई कायम राखेपछि मोदीको चीनप्रतिको भावनामा परिवर्तन आएको बताइन्छ ।

‘यो बाहेक चीनले वान वेल्ट वान रोड र इकोनोमिक कोरिडोर परियोजनामा पाकिस्तानलाई साथ लिएपछि चीन र भारतबीच मनमुटाव अझै बढ्यो । अरुणाचल प्रदेशलाई तिब्बतको भूभाग भन्दै आएको चीनलाई चुनौती दिन मोदीले दलाई लामालाई अरुणाचल प्रदेश जान अनुमति दिएपछि चीन भारतसँग अझ बढी बिच्किएको हो ।

‘चीन उक्त क्षेत्रमा बाटो बनाउने सोचाइमै रहेको कारण शान्तिपूर्ण रूपमा भए पनि उ बाटो बनाउनै चाहन्छ । उक्त क्षेत्रमा उ कुनै किसिमको युद्ध होस् भन्ने पटक्कै चाह“दैन । यसकारण उक्त क्षेत्रमा युद्ध हुन्छ कि हुँदैन भन्ने निर्णय भारतले मात्र गर्न सक्छ ।’ (एजेन्सीको सहयोगमा)

Logo