केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।
मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन स्वयम् खाद्य ऐन नै बाधक रहेको खुलासा भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन खाद्य ऐन नै बाधक रहेको जानकारी गराएको हो
। विभागले खाद्य उद्योगको बजार अनुगमनको कामलाई तीव्रता दिए पनि त्यसको गुणस्तर नियमनको काममा भने विद्यमान ऐननै बाधक बनेको प्रस्टयाएको हो ।
बिहीबार काठमाडांैमा पत्रकार सम्मेलन गरी विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बजारमा मिसावटयुक्त खाद्य वस्तुहरु भेटिए पनि तत्काल स्थलगत जरिवाना गर्ने प्रावधान
समेत नरहेको उल्लेख गरे । उनले भएका कानुनी कार्वाही प्रक्रिया पनि लामो भएको स्पष्ट पारे । प्रवक्ता वस्तीले अखाद्य वस्तु बिक्री–वितरण गर्नेमाथि कार्वाही गर्न खोज्दा खाद्य ऐन र उपभोक्ता संरक्षण ऐन बाधक बन्ने गरेको गुनासो पनि गरे ।
विभागले अनुगमन कार्यलाई अघि बढाउन विभागको संगठन संरचना र सवारी साधनको पनि कमी रहेकोे स्पष्ट पारेको छ । प्रवक्ता वस्तीले विभाग, क्षेत्रीय कार्यालय तथा खाद्य क्वारेन्टाइन प्रयोगशालाहरूमा प्रभावकारी अनुगमनका लागि सवारी साधनको समेत कमी रहेको बताए ।
आयात, निर्यात नियमनका निम्ति थप प्रयोगशालाहरू स्थापना गर्नका लागि भौतिक तथा मानवीय स्रोत साधन नभएको पनि स्मरण गराइएको छ ।
विभागले खाद्य वस्तुको स्वच्छता, गुणस्तर र पौष्टिक अवस्थामा सुधार ल्याउन सम्बद्ध सबै निकायको सहकार्यको आवश्यकतामा पनि जोड दिएको छ ।





























प्रतिक्रिया