वन्यजन्तुमाथि परेका असरबारे क्यामरा–ट्रयापिङ विधिबाट अध्ययन हुँदै

वन्यजन्तुमाथि परेका असरबारे क्यामरा–ट्रयापिङ विधिबाट अध्ययन हुँदै

केन्द्रबिन्दु
0
Shares

रत्ननगर (चितवन), ८ साउन । चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविक मार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न लागिएको छ । 

क्यामरा ट्रापिङ विधिमार्फत यहाँ आवजतजावत गर्ने संरक्षित वन्यजन्तुमा परेको असरबारे अध्ययन हुन लागेको हो । 

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अबस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा अध्ययन गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले अनुगमनका लागि जंगल क्षेत्रमा क्यामेरा राख्न अहिले आवश्यक प्राविधिक तथा आन्तरिक तयारीका काम भैरहेको जानकारी दिनुभयो । 

साउन महिनाभित्रै क्यामेरा जडान भैसक्ने उहाँको भनाइ छ । सो क्षेत्रमा विभिन्न स्थानमा क्यामेरा राखेर यहाँ वन्यजन्तुको आवागमन र तिनमा परेको असरबारे अध्ययन गरिने जनाइएको छ । 

चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्रयापिङबाट अनुगमन नभएको जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो क्षेत्रमा ५ देखि १० वटासम्म क्यामेरा राखेर अनुगमन गरिने भएको छ । 

यसअघि चितवन निकुञ्जमा बाघको अध्ययन गर्नुभएका कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेका अनुसार लामो समय लगाएर यहाँको अध्ययन हुने जानकारी दिनुभयो । सो क्षेत्रको सुरक्षामा चुनौती भएपछि यहाँ अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्न बन्द गरिएको छ । रासस 

Logo