काठमाडौँ, ५ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ ।
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित छलफल कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै उहाँले भन्नुभयो – पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।
सभापति देउवाले निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हँुदैन, भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उहाँले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ, उहाँले भन्नुभयो – पार्टीको गुट उपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्दछ ।
महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस प्रदेश नं २ बाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै टिकट नपाएका असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश नं २ का १ सय तहमा जित्ने रणनीतिक योजना
स्थानीय तहको दुई चरणको निर्वाचनमा दोस्रोस्थानमा झरेको काँग्रेसले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजना अघि सारेको छ ।
काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाएको प्रदेश नं २ को भेलाका बारेमा प्रकाश पार्दै नेता विमलेन्द्र निधिले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १ सय २७ तह मध्ये १ सय तहमा काँग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।
प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक ६ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।
भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुनुहुन्छ ।
शुक्रबारसम्म छलफल हुने सो कार्यक्रममा आठवटै जिल्लाका आठ समूह बनाएर उम्मेदवार सिफारिस, प्रचारप्रसार र अन्य दलसँगको चुनावी तालमेल सम्बन्धमा छुट्टाछुट्टै र सामूहिक छलफल गरी निष्कर्ष निकालिने पार्टी कार्यालयले जनाएको छ । रासस





























प्रतिक्रिया