सांसदहरुको आरोप : जूँगू घटनाका दोषी महान्यायाधिवक्ता

सांसदहरुको आरोप : जूँगू घटनाका दोषी महान्यायाधिवक्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ‘जूँगू घटना’का दोषीलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाइएको छ ।

दोलखाका सांसदहरुले ‘जूँगू घटना’ का दोषीमाथि कार्वाही गर्न उच्च अदालत पाटनमा दर्ता गर्न लगिएको मुद्दाको फायल नै वेपत्ता बनाएर महान्यायाधिवक्ता श्रेष्ठले दोषीलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाएका हुन । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोलखाका सांसदत्रय पशुपति चौंलागाई, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले जिल्ला अदालतले न्याय नदिएपछि न्यायको खोजीमा आएका पीडितमाथि झनै अन्याय गर्ने काम महान्यायाधिवक्ता श्रेष्ठबाटै भएको भन्दै आपत्ति पनि जनाएका छन ।

मुद्दाको फायलनै गायव गराएर महान्यायाधिवक्ता श्रेष्ठले न्यायिक बाटो नै अवरुद्ध पारेको, न्याय मार्ने गम्भिर षडयन्त्र गरेको आरोप समेत लगाएका छन । हत्याजस्तो गम्भिर फौजदारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता लिनुपर्नेमा आफ्नो आस्था निकट रहेका अभियुक्त भएकै कारणले पीडितलाई न्याय दिनबाट बञ्चित गराउने काम महान्यायाधिवक्ताबाटै भइरहेको दावी पनि सांसदहरुले गरेका छन । सांसद पशुपति चौंलागाईले न्याय निरुपण गर्ने सरकारका प्रवक्ता आफैले न्याय मार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनु भयो ।

अर्का सांसद पार्वत गुरुङले पीडितलाई न्याय दिन खोज्दा महान्यायाधिवक्ता श्रेष्ठको ठाडो निर्देशनमा दोलखामा डिएसपी र सरकारी वकिलनै सरुवा गरिएको पनि स्मरण गराउनु भयो । उहाँले घटनाका अभियुक्तहरुलाई संरक्षण दिने काम महान्यायाधिवक्ता आफैले गरेपछि त्यसको विरोधमा बोल्नु आफूहरुको दायित्व भएको पनि स्पष्ट पार्नु भयो ।

सांसद आनन्दप्रसाद पोखरेलले सरकारी तहबाटै न्याय निरुपण हुन नदिने गम्भिर षडयन्त्र भइरहेको आरोप लगाउनु भयो ।

माओवादी केन्द्रले स्थानीय चुनावको प्रचार अभियानमा जुटिरहेका बेला दोलखा जूँगूका कुलबहादुर तामाङलाई गत बैशाख २६ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसपछि पीडित पक्षले न्याय पाउन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । तर, जिल्ला अदालतले पक्राउ परेका ३९ जना अभियुक्तहरुलाई पनि सामान्य तारेखमा रिहा गरेपछि पीडित पक्षले न्यायको खोजी गर्दै न्यायपरिषदमा उक्त विषय छानवीन गर्न निवेदन समेत दिएका छन । पीडितलाई न्याय नदिन राज्य पक्ष आफै अग्रसर भएको दोलखाका सांसदहरुको दावी छ । उनीहरुले पीडितलाई न्याय दिन राज्य पक्ष गम्भिर नभए त्यसको परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी पनि दिएका छन ।

Logo