‘मूर्तिचोरीमा पहुँचवाला र उच्चपदस्थहरु पनि …’

‘मूर्तिचोरीमा पहुँचवाला र उच्चपदस्थहरु पनि …’

केन्द्रबिन्दु
0
Shares

संवाद । रवीन्द्र पुरी ।

पुरातत्व र संस्कृतिबृत्तमा रवीन्द्र पुरी चर्चित र स्थापित नाम हो । नमुना काममा मात्र हात हाल्ने पुरी पुरातात्विक महत्वका बस्तुहरुको संरक्षणको सवालमा निकै चिन्तित छन् ।
नेपालवाट हजारौंको संख्यामा पुरातात्विक महत्वका बस्तु चोरी भएका छन् । ती मध्ये अधिकांश विदेशमा छन् । रवीन्द्र पुरीले ती मध्ये धेरै मूर्तिको प्रतिलिपि समेत तयार गरे । अर्थात चोरीएको मूर्ति जस्तै अर्को नयाँ मूर्ति तयार गर्दैरहेका छन् उनी । आखिर किन ? प्रस्तुत छ, यि र यस्तै विषयमा केन्द्रीत रहेर केन्द्रबिन्दु संवाददाताले गरेको कुराकानीको छोटो अंश ।

 

चोरिएका मूर्तिहरुको प्रतिलिपी तयार गर्नु भन्दा चोरीएका बस्तुहरु फर्काउने वातावरण तयार गर्नु राम्रो होइन र ?
फर्काउन सक्नु जति राम्रो त अरु केही छैन । तर पहल चाहिं संवन्धित क्षेत्रवाट हुन जरुरी छ । जो निदाएर बसेकाछन् । जिम्मा लिएर बसेको पुरातत्व विभाग, संवन्धित देशका राजदुत, परराष्ट्र मन्त्रालय, ललितकला एकेडेमी आदिले काम गर्ने हो भने फर्काउन पनि संभव छ । भारतमा पुरातात्विक महत्वका धेरै वस्तुहरु सरकारको पहलमा फिर्ता आएका छन् ।

संवन्धित सरकारी निकायले किन फिर्ता ल्याउने पहल नगरेका होलान् ?
फिर्ता ल्याउने त टाढाको कुरा भो । उनीहरुले चोरीमा कडाई गरे मात्र पनि पुग्छ ।

पुरातात्विक महत्वका वस्तुहरु अहिले पनि चोरी भईरहेकाछन् त ?
अहिले पनि उत्तिकै मात्रामा चोरी भईरहेकाछन् । चोरी रोकिएको छैन । मिडियाले कम महत्व दिएको मात्र हो ।

किन नरोकिएको होला मूर्ति चोरी ?
कार्यवाही नभएर । तपाईले मूर्ति चोरलाई कार्यवाही भएको सुन्नु भएको छ ? त्यसको पछाडि को छ भन्ने कुरा कहिलै खोजी भएको छैन । भ्रष्टाचार गर्ने नेताहरु जेल गएको समाचार कहिले काही सुन्न पाईन्छ । वन्यजन्तुका तस्करी, ड्रगको ओसारपसार आदिमा लागेकालाई रंगेहात पक्रेको समाचार आउने गर्छ । तर आजका मितिसम्म पुरातात्विक महत्वका वस्तुहरु चोर्ने गिरोहलाई कार्यवाही भएको सुनिएको छैन । यसको मतलव के हो भने चोरीमा जोखिम छैन । जोखिम नहुने र रातारात करोडपति हुने काममा मान्छे आकर्षित हुन स्वभाविक हो ।

चोरी रोक्न के गर्नु पर्ला ?
पुलिस प्रशासन, पुरातत्व विभाग आदि सुरक्षाको ठेक्का लिएर वसेकालाई धेरै विश्वास गरियो । तर चोरी रोकिएन । हाँस्यस्पद कुरा त के छ भने अति सुरक्षा घेरामा रहेका म्यूजियमहरु समेत फोडिएका छन् र चोरहरु सफल भएकाछन् । त्यसैले विश्वास गर्ने ठाऊँ कसैमा छैन । यसको एउटै उपाय भनेको समुदाय सजग हुनुपर्छ । पुरातात्विक महत्वका बस्तुहरु हराउँदा हाम्रो इतिहासको प्रमाण हराउँछ, हाम्रो परिचय हराउँछ, हाम्रो सभ्यता हराउँछ भन्ने कुरा संवन्धित टोल वा गाऊँलाई बुझाउन सक्नु पर्छ ।

अहिलेसम्म पुरातात्विक महत्वका वस्तु कति चोरी भए होलान् ?
कति चोरी भए भन्ने प्रमाण पुरातत्व विभागसँग पनि छैन । उनीहरुले फिर्ताल्याएको प्रमाण राखेकाछन् । तर ती फिर्ता भएका बस्तु अहिले कहाँ छन् उनीहरुलाईनै थाहाछैन । बिडम्वना त के छ भने फिर्ता आएका कतिपय बस्तु फेरी विदेशी म्यूजियममा पुगेकाछन् ।

कस्ले चोर्छ हाम्रो मूर्ति ?
पहिला पहिला दरवारका केही सदस्यहरुलाई दोष लगाईन्थ्यो । तर गणतन्त्र स्थापना भइसक्दा पनि चोरी रोकिएन । चोर्नेलाई कार्यवाही नभएको देख्दा त पहँुचवाला र उच्चपदस्थहरु पनि होलान् जस्तो लाग्छ ।

चोरी भएका वस्तु कहाँ होलान् धेरै ?
अमेरिकाको रुविन म्यूजियमका प्रमुखले घोषणा गरेकाछन्, हिमाली कलेक्सन् सवैभन्दा धेरै आफूसँग छ भनेर । उनी नेपाल पनि आएका थिए । यहाँ आएर पनि उनले दोहो¥याए, नेपालको धेरै कलेक्सन् हामीसँग छ भनेर । हाम्रो संवन्धित निकायले उनलाई प्रश्न गर्न सकेन कि तिमीले कसरी हाम्रा कलाकृति लगेऊ भनेर । युरोप र अमेरिकाका म्यूजियम चाहार्ने हो भने हाम्रा हराएका सवैजसो बहुमूल्य बस्तु फेला पर्ने छन् । मलाई लाग्छ धेरै विदेशी यहाँ पुरातात्विक महत्वका बस्तु चोर्न ढुकेर बसेकाछन् ।

कसरी चोरी हुन्छ मूर्ति ?
मेरो विचारमा नेपालीले चोरेर राख्ने अनि बेच्ने होइन । नेपालीलाई चोर्न प्रोत्साहान विदेशीवाट हुन्छ । उनीहरु आउँछन् र मलाई फलानो मूर्ति चाहियो भन्छन् ।

चोरीन बाँकी के छ हामीसँग ?
हामीसँग अझै धेरै बस्तु बाँकी छन् । पाइलै पिच्छे छन् । अनि चोर्न नसक्ने बस्तु पनि छन् । मन्दिरका गजुर र टुँडाल चोरे । तर मन्दिर त चाहेर पनि सक्दैनन् नि । दुःखको कुरा के छ भने अहिलेकै चाल हो भने तिनै रित्ता मन्दिर मात्र बाँकी बस्छन् ।

विश्वमा हाम्रो परिचय कस्तो छ ?
संसारका हरेकजसो म्यूजियमहरुमा नेपाल शाखा वा हिमालयन शाखा हुन्छ नै । हाम्रो कलाकृति वाहेक म्यूजियमनै पूर्ण हँुदैन भन्ने छ, धेरै विदेशीलाई । हिन्दू र बौद्ध कला हामीसँग जति पुरानो अरु कसैसँग छैन पनि । त्यति पुरानो भएर पनि त्यसमा झल्कने कला पक्षले संसारलाई आकर्षित गरेको छ ।

 

Skip This
Skip This
Logo