आज दशैंको एघारौं दिन, विजयादशमीको टीका निरन्तर

आज दशैंको एघारौं दिन, विजयादशमीको टीका निरन्तर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दुर्गापक्षको मुख्य दिन सोमबार (हिजो) विजयादशमीको टीका मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको छ ।

सोमबार टीका लगाउन जान नभ्याएकाहरुले आज पनि आफन्त र मान्यजनहरुको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका छन् । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर रहनेछ । यद्यपी केही समुदाय र ठाउँ विशेषमा भने दशैंको टीका एकदिन मात्र लगाउने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नवरात्रमा देवी विसर्जनको साइत सोमबार बिहान १०ः११ बजेका लागि निर्धारण गरेको थियो । टीका, प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने विहान १०ः१९ बजे उत्तम रहेको थियो । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सर्वसाधारणले साइत खोज्नु नपर्ने भए पनि विजया दशमीको साइत निर्धारण गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने दशैंको टीका यसवर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिमतर्फ फर्कनु पर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नु पर्ने अध्यक्ष गौतमले बताए ।

दशैंको पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी नेपालीहरुको सबैभन्दा महत्वपूर्ण चार्ड हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विगतमा दशैंको कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण त्यति भिड भने लागेन । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन सरकारले आव्हान गरिसकेकाले पनि भिड कम भएको हो ।

Skip This
Skip This
Logo