काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन् । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उनको भनाइ छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिन्ह ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्ने र सूर्य चिन्ह लिएर जनताको ताजा जनमतमा जाने बताए ।
उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य पोखरेलले नेकपा प्रचण्ड–माधव पक्षले बिहिबार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपूर्ति दिने पनि बताएका छन् ।
बिहिबारको आम हड्तालमा भएको क्षतिको क्षतिपूर्ति सरकारले गर्ने बताएका हुन् । काठमाडौँमा तोडफोड भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उनको भनाइ छ । उनले जनतालाई दुःख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपूर्ति दिने पनि बताए।
उपप्रधानमन्त्री पोखरेलले आफूहरुको लडाईं अराजकताविरुद्ध भएको बताए। आफूहरु मुलुकलाई आर्थिक समृद्धितर्फ जान नचाहनेहरुको विरुद्ध, मुलुकलाई अस्थिरतातर्फ लैजाने दुस्प्रयासको विरुद्ध लडाईं लडिरहेकोले लडाइँलाई कमजोर हुन नदिने उनको भनाइ छ ।
उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतदेखि कै अवसरवाद जिम्मेवार रहेको बताए । जतिसुकै छलछाम र षड्यन्त्र गरेपनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उनको भनाइ छ ।































प्रतिक्रिया