प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । बिहान ११ बजे उनी आयोगको कार्यालय पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचनको तयारी र नेकपाभित्रको विवाद लगायत विषयमा छलफल गर्न ओली आयोग गएका हुन् । नेकपा विवादको विषयमा दुवै खेमाका नेताहरूले आफूहरू मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।
यद्यपी पार्टीको आधिकारिकता दाबी गर्न यस अघि नै नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, स्थायी कमिटीका नेताहरू आयोग पुगेका थिए । उनीहरूले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका छन् । प्रचण्ड–नेपाल समूहले बुझाएको १९ पृष्ठ लामो निवेदन अध्ययन भइरहेको आयोगले जनाएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यस यता प्रभानमन्त्री ओली निकट नेकपा बाहेकका अन्य साना ठूला दलहरुले यसको विरोध गरेका छन् ।































प्रतिक्रिया