काठमाडौं ।
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ जित निकालेको छ । गए राति भएको खेलमा बेन स्टोक्सको शतकीय पारीको सहयोगले राजस्थानले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । राजस्थानको जितका लागि स्टोक्स र सामसनले १५२ रनको साझेदारी गरे ।
स्टोक्सले ६० बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १०३ रनको अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै सामसनले ३१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५४ रनको योगदान दिलाए । राजस्थानले पहिलो विकेटको रुपमा रोविन उथप्पालाई १३ रनमा गुमाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले हार्दिक पाण्डेयको अर्धशतकको सहयोगमा १९५ रन जोडेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको हो।
मुम्बईका लागि सूर्यकुमार यादवले ४० रनको योगदान दिए । उनले २६ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४० रन जोडेका हुन् । ओपनर ब्याट्सम्यान इसान किसनले ३७ रनको योगदाना दिए । उनले ३६ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३७ रनको पारी खेलेका हुन् ।
जितसँगै राजस्थानले १२ खेल खेल्दै पाँच खेलमा जित र सात खेलमा हारसहित १० अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ११ खेल खेलेको मुम्बईले भने १४ अंक जोडेको छ ।































प्रतिक्रिया