बुधबार प्रचण्ड–नेपाल समूहले राजधानीमा आयोजित कार्यक्रममा नेकपा नेता रघुजी पन्तको भाषणमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पाखण्डी र वकवासको संज्ञा दिँदै कडा टिप्पणी गरेका छन् ।
जनसभालाई सम्बोधन गर्दै पन्तले प्रधानमन्त्री केपी शर्मा ओली पशुपति दर्शनमा गएको र पशुपतिमा १ अर्व बराबरको सुनको जलप लगाउने प्रसंग निकाल्दै त्यसको आलोचना गरेका थिए । नेता पन्तले हरेक भाषणको अन्तिममा ‘पशुपति नाथले सबैको कल्याण गरून्’ भन्ने स्वर्गिय राजा वीरेन्द्रको वंश नै नास भएको तथा, पूर्व राजा ज्ञानेन्द्रले पनि आफ्ना हरेक सम्बोधनमा पशुपति पुकार्ने गरेपनि नारायणहिटीबाट नागार्जुन पुग्नु परेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका थिए ।
केही बोल्न नसक्ने पशुपतिनाथले पूर्व राजाहरूलाई त केही गर्न नसकेको भन्दै अब, ओली जीलाई पशुपतिनाथले के कृपा गर्ने हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई नबोल्ने पशुपतिनाथलाई नभएर बोल्ने पशुपतिनाथ (जनता) लाई खुसी बनाउन चुनौति पनि दिएका थिए ।
नेता पन्तको सोही अभिव्यक्तिलाई लिएर राप्रपा अध्यक्ष थापाले पाखण्डी र वकवासको संज्ञा दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा पन्तले बोल्दै गरेको भिडियो शेयर गर्दै थापाले भनेका छन्, : ‘केपी ओलीको विरोध गर्दा अमर्यादित र अनुचित ढंगबाट आराध्यदेव भगवान् श्री पशुपतीनाथ र राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोड्ने यस्तो ‘पाखण्डी’ सोचले प्रचण्ड र माधव नेपालको अभियानमा आमजनताको विश्वास घटाएको छ, अविश्वास बढाएको छ । यस्तो बेतुकको वकवास बन्द गर्न सल्लाह दिन्छु ।’































प्रतिक्रिया