प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेको छ । गिरफ्तारी दिनु अघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप पनि लगाएकी थिइन् । तथापी उनलाई प्रहरीले आफ्नै निवास शंखमुल पुगेर गिरफ्तार गरेको हो ।
उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउ पूर्जी दिइएको थियो । झाँक्री स्वयंले आफू कानूनको परिपालन गर्ने नागरिक भएको भन्दै राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार गिरफ्तारी दिने घोषणा गरेकी थिइन् ।
गिरफ्तारी दिनु अघि आफूहरूले कहिल्यै पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार हनन् नहुने गरी लोकतन्त्र ल्याएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अकुंश लगाउने कोशिस गरेको उल्लेख गरिन् ।
झाँक्रीलाई पक्रउ गर्न शंखमुलस्थित उनको घरमा प्रहरी पुगेपछि त्यहाँ सयौं कार्यकर्ताहरू पुगेका थिए भने उनीहरूले सत्तामा रहेका केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए ।
सो क्रममा झाँक्रीले आफ्नो गिरफ्तारीका लागि आएको प्रहरी र सयौं कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रहरी समक्ष गिरफ्तारी दिएकी हुन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा मीनभवन लगिएको छ ।
झाँक्रीले राज्यविरुद्ध गरेको कसुर चाहिँ के हो ?
नेतृ रामकुमारी झाँक्रीले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । कार्यक्रममा नेतृ झाँक्रीले भनेकी थिइन्,– ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्न गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी।’
यससँगै उनले थपेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।’ मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको पनि झाँक्रीको भनाइ थियो ।
उनको यस्तो अभिव्यक्ति बाहिरिएसँगै अखिल नेपाल महिला संघ (अनेमसंघ)ले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र समेत बुझाएको थियो । यसका साथै बुधबार काठमाडौं स्थित प्रदर्शनीमार्गमा आयोजित प्रचण्ड–नेपाल समुहले गरेको कार्यक्रममा पनि नेतृ झाँक्रीले राष्ट्रपतिमाथि कटाक्ष गरेकी थिइन् ।
०००
के हो राज्यविरुद्धको कसुर ?
नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसारको फौजदारी कसुरहरूको परिच्छेद –१ मा राज्यविरुद्धका कसुरबारे उल्लेख गरिएको छ ।
जसको दफा ५८ अनुसार, राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुनेः उल्लेख गरिएको छ । दफा ५८ को धारा १ मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन भनि लेखिएको छ ।
यस्तै (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । जहाँ स्पष्टीकरणका रूपमा लेखिएको छ कि, यस दफाको प्रयोजनको लागि “संसद्” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद् र प्रदेशसभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसद्लाई समेत जनाउँछ ।
यस्तै, दफा ५९ मा, हदम्याद सम्बन्धी व्यवस्था अनुसार, (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसुरमा जहिलेसुकै पनि उजुर लाग्न सक्ने उल्लेख गरिएको छ भने, उपदफा (१)मा उल्लेखित दफाबाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।
के भन्छन्, दल तथा दलका नेता र कानुन व्यवसायीहरू ?
नेतृ झाँक्रीलाई पक्राउ गरिएकोप्रति प्रचण्ड-नेपाल समूहले आपत्ति जनाउँदै निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । सो पार्टीले एक विज्ञप्ति नै जारी गरि उनको रिहाइको माग गरेको हो ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति निकालेर झाँक्री पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै त्यसको भर्सना गरेको हुन् । विज्ञप्तिमा भनिएको छ– ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरङकुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ ।’
विज्ञप्तिमा लेखिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनैपनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पस्ट हुँदा हुँदै पनि राजनीतिक आलोचनालाई राज्य विरुद्धको कसुर देख्नु गम्भिर दृष्टी भ्रभ पूर्वाग्रह र स्वेच्छाचारीता बाहेक केहि होइन । हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्सना गर्दै केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
यस्तै नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पनि प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताएका हन् । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नु भयो भनेर पक्राउ गरियो । यो लोकतन्त्रमाथिको आक्रमण हो’, प्रचण्डले भनेका छन् ।
यसैगरि, प्रचण्ड–नेपाल पक्षीय युवासंघले पनि झाँक्रीको गिरफ्तारी प्रति आपत्ति जनाउँदै निःशर्त र अविलम्ब रिहा नगरे देशभर आन्दोलन गर्ने चेतावनी नै दिएको छ ।
यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन् । क्राँक्री पक्राउ परेपछि नेता थापाले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जानाएका हुन् ।
उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति’ राष्ट्रपतिमाथि कटाक्ष पनि गरेका छन् ।
त्यस्तै सरकारलाई झ्यालखानाको संख्या पनि थप्न आग्रह गर्दै थपेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
झाँक्रीको गरिफ्तारी प्रति विरोध जनाउँदै थुप्रैले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् भने, कतिपयले तानाशाहहरू ढल्ने बेलामा यस्तै हुने प्रतिक्रिया दिएका छन् । यता, बानेश्वरस्थित प्रचण्ड–नेपाल निकट कार्यकर्ताले त्यस विरुछ नारा जुलुस पनि गरिरहेका छन् ।































प्रतिक्रिया