राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनुभएको छ । पक्राउको चौतर्फी विरोधपछि प्रहरीले साँझ उहाँलाई विनाशर्त रिहा गरेको हो । नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित आफ्नै निवासबाटै पक्राउ गरेर ५ घण्टा हिरासतमा राखेपछि साँझ ६ः२० बजे रिहा गरेको थियो ।
प्रहरीले शुरुमा सोधपुछका लागि आउन गरेको आग्रहलाई अस्वीकार गर्दै उहाँले पक्राउ पुर्जी खोज्नुभएको थियो । पक्राउ गर्ने भएसँगै नेकपाका नेता कार्यकर्ताले सरकारको विरोध गर्दै नारावाजी गरेका थिए । त्यसपछि प्रहरीले झाँक्रीलाई ‘राज्यविरुद्धको कसूर अन्तर्गत दफा ५८’को कसूर अन्तर्गतको अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी थमाएसँगै दिउँसो १ः१० बजेतिर प्रहरीले पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा लगेर राखेपछि नेकपाका युवा विद्यार्थीले सडकमा विरोध प्रदर्शन गरेका थिए भने सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको कडारुपमा आलोचना गरेका थिए ।
चौतर्फी आलोचना, दबाबपछि अन्ततः सरकार उहाँलाई रिहा गर्न तयार भएको थियो । राजनीतिक विषयमा सरकारले प्रहरीलाई नै विवादमा पार्ने गरी झाँक्रीलाई पक्राउ गर्न दबाब दिएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएपछि केही दिनदेखि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिँदै आउनुभएको प्रहरी स्रोतको दाबी छ । सरकारले केही दिन झाँक्रीलाई हिरासतमै राख्ने मनसायको साथ पक्राउ परेको भए पनि चौतर्फी दबाब थेग्न नसक्ने भएपछि रिहा गरेको नेकपा प्रचण्ड–नेपाल समूहका नेता ठाकुर गैरेले बताउनुभयो । साँझ रिहा भएपछि प्रतिक्रिया दिँदै झाँक्रीले प्रतिगामी सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि बाध्य भएर आफूलाई रिहा गरेको बताउनुभयो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने उद्घोष गर्दै उहाँले भन्नुभयो– ‘चौतर्फी दबाब थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ ।’
साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा झाँक्री रिहा हुनुभएको थियो । प्रहरीको सोधपुछमा भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सधैं सम्मान रहेको र आगामी दिनमा पनि रहने जानकारी गराउनुभएको छ । प्रहरीसमक्ष झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताउनुभएको थियो । माघ १६ गते गोरखामा भएको एक कार्यक्रममा उहाँले ‘विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो’ भन्दै राष्ट्रपतिको कडा आलोचना गरेपछि उहाँलाई पक्राउ गर्न दबाब बढेको थियो । सो अभिव्यक्तिलाई लिएर ओली समूहका महिला नेतृहरुले आपत्ति जनाउँदै झाँक्रीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा सरकारको चौतर्फी आलोचना भएको थियो । नागरिकले बोल्न पाउने अधिकारको हनन भएको भन्दै राजनीतिक दल र नागरिक समाजका व्यक्तिहरुले सरकारको चर्को आलोचना गरेका थिए । झाँक्रीलाई प्रहरीले अपराध संहिताको राज्यविरूद्धको कसूरअन्तर्गत दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको थियो ।प्रतिनिधिसभा विघटनविरुद्धमा गोरखामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले राष्ट्रपतिलाई बडामहानरीको संज्ञा दिँदै शीतल निवास छोडेर निर्वाचनमा आउन चुनौती दिनुभएको थियो । झाँक्रीले आफूहरुले टाउको फुटाएर ल्याएको गणतन्त्र र संविधानमाथि एउटा गुटको स्वार्थमा राष्ट्रपतिले प्रतिगमनकारी कदम चालेको बताउनुभएको थियो ।
उक्त अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झाँक्रीलाई पक्राउ गरेको नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । झाँक्री पक्राउ परेपछि सर्वत्र विरोध भएको छ । प्रचण्ड–माधव समूहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो– ‘झाँक्रीलाई पक्राउ गरेर सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उठाएको छ, यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’ लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै उहाँले झाँक्री पक्राउको घोर निन्दा गर्नुभयो ।नेपाल समाचारपत्रबाट































प्रतिक्रिया