नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका महासचिव विष्णु पौडेलले बैशाखको चुनाव दुनियाँको कुनै तागतले पनि रोक्न नसक्ने बताएका छन् ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेशद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने बताएका हुन् । बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने उनको भनाइ छ । उनले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्ने गरी चुनावी तयारी गर्न निर्देशन समेत दिए ।
प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनु पर्ने अवस्था आएको उनको भनाइ छ । बैशाखको चुनावपछि ओली नेतृत्वको पार्टीको बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न नसक्ने पनि उनले बताए ।
महासचिव पौडेलले केपी शर्मा ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि यो भन्दा ठूलो वैधानिकता अरु केही नहुने बताए । जनताको साथ, समर्थन र ऐक्यवद्धता भएको पार्टी वैधानिक हुने भन्दै उनले केपी शर्मा ओली नेतृत्वको नेकपासँग वैधानिकता रहेको र चुनाव चिन्ह पनि ओली नेतृत्वकै पार्टीमा हुने दाबी गरे । उनले आफ्नो हातमा रहेको सूर्य चिन्हलाई आत्मविश्वासका साथ फहराउन कार्यकर्तालाई आव्हान समेत गरे ।
महासचिव पौडेलले नेकपा विभाजन नभएको पनि जिकिर गरे । नेकपाका इमान्दार कार्यकर्ता, जनता तथा योद्धाहरुले नेकपालाई विभाजन गर्न नदिने उनको भनाइ छ । आफूहरु एकता जोगाएर अघि बढ्न चाहेको भएपनि पार्टी भित्रको षडयन्त्रको कारण तथा जंगली महत्वांकाक्षाका कारणले विभाजन हुन्छ कि भन्ने आशंका भएको उनले बताए । कम्युनिष्ट आन्दोलनको प्रगति र समृद्धि देख्न नचाहने, संविधानको प्रभावकारी कार्यान्वयन देख्न नचाहनेहरुलाई पार्टी विभाजन भएको लागेपनि अन्योलमा हुनेहरु फर्किएर यहि आन्दोलनमा आउने उनले विश्वास व्यक्त गरे ।
उनले ओलीले संविधान निर्माणको कामको नेतृत्व गरेको, संविधान कार्यान्वयनमा विश्वसनीयता कायम गरेको र मानवीय र भौतिक दृष्टिकोणले हेर्दा पनि इतिहासमै नभएको ऐतिहासिक काम गरेको भन्दै राजनीतिक स्थायित्वको निम्ति ओली नेतृत्वकै पार्टीमा आउन सबैलाई आग्रह समेत गरे ।
महासचिव पौडेलले ओली सरकारलाई जनताले साथ दिएको तथा प्रतिपक्षले समेत विरोध गर्न नसकेको स्थितिमा पार्टी भित्रैबाट विभिन्न बाहानाबाजि गर्दै कसरी प्रधानमन्त्री र अध्यक्षबाट हटाई पार्टी र सत्ता कब्जा गर्न लागेका कारण पार्टी चोईटिएको पनि बताए ।































प्रतिक्रिया