निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न आज सरकारका प्रतिनिधी र राजनीतिक दलका नेताहरुलाई बोलाएको छ। निर्वाचन आचारसंहिताको मस्यौदामा परामर्शका लागि आयोगले दलहरुलाई छलफलका लागि बोलाएको हो।
आयोगले आज संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ वटा दललाई बोलाएको छ। दलका नेताहरुको सुझाव लिएर छिटै नै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने तयारीमा आयोग छ ।
आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य पार्टीका अध्यक्ष तथा सभापतिलाई पनि बोलाएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेसँगै आयोग आन्तरिक तयारीमा छ । यसैक्रममा गत माघ १४ देखि २१ गतेसम्म आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम पनि सम्पन्न गरिसकेको छ ।
यता नेकपाको आधिकारिकता विवाद पनि कायमै छ भने प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ।































प्रतिक्रिया