कोरोना संक्रमण घटेसँगै लयमा फर्किंदै खेलकूद क्षेत्र

कोरोना संक्रमण घटेसँगै लयमा फर्किंदै खेलकूद क्षेत्र

केन्द्रबिन्दु
0
Shares

कोरोना कहरमा झण्डै एक वर्ष  प्रभावित बनेको खेलकूद क्षेत्र लयमा फर्किन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीसँगै खेलकूद क्षेत्रमा अभ्यास लगायतका कार्यक्रम स्थगन बनेपछि खेल जगत् नराम्ररी प्रभावित बनेको थियो ।  

 पछिल्लो समय कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिममा नियमित अभ्यासका साथै विभिन्न प्रतियोगितामा खेलाडी व्यस्त हुन थालेका छन् । केही महिना यता कञ्चनपुरमा विभिन्न खेलका प्रतियोगिता नियमितजसो आयोजना हुन थालेको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।

यहाँ १६ खेलमा कबर्डहल र खुलामञ्चका साथै यहाँको झलारी, दोधारा चाँदनी, पुनर्वास क्षेत्रमा खेल गतिविधि सञ्चालनमा रहेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो । करीब डेढ वर्षदेखि पदाधीकारीविहीन रहेको जिल्ला खेलकूद विकास समिति कर्मचारी र खेल प्रशिक्षकको अग्रसरतामा खेल गतिविधि भइरहेका छन् ।

“अन्य जिल्ला प्रदेशभन्दा यहाँ खेल गतिविधि नियमित छन्”, कार्यालय प्रमुख भट्टले भने, “प्रशिक्षणले पनि व्यापकता पाएको छ ।” हाल कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो सहाना प्रधान महिला राष्ट्रिय हक्की प्रतियोगिता आर्मी क्लबले जितेको छ ।

त्यसैगरी केही दिनअघि मात्रै च्याम्बर अफ कमर्शको आयोजनामा यहाँ जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो भने महेन्द्रनगर युनाइटेडले रु एक लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सम्पन्न गरेर यहाँ प्रदेशस्तरीय लिग चरणको फुटबल हुँदैछ ।

बक्सिङ ओलम्पियन तथा जिल्ला खेलकूद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले पुरानै लयमा फर्किन खोजेको बताए।

“कोरोना कहरमा खेलाडीको मनोबल घटेको थियो”, उनले भने, “अब नियमित प्रशिक्षणमा आएर व्यस्त हुन थालेका छन् ।” उनले १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी लगत्तै कोरोना चपेटा पर्दा समस्यामा परेको बताए।

त्यसैगरी भलिबल खेलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले कोरोना कहरले खेल जगत् प्रभावित भएका बेला यहाँ भलिबल प्रशिक्षण केन्द्रको जीर्णोद्धार गरे । उनले पहिलो पटक यहाँ अन्तर्राष्ट्रिय मापदण्डको बीच भलिबल कोर्टकोसमेत निर्माण गरेका थिए ।

विसं २०६१ मा सुदूरपश्चिममै पहिलो पटक यहाँस्थित कबर्डहलमा नेपाली सेनाको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरेका प्रशिक्षक भट्टले अहिले भलिबलको प्रशिक्षण र व्यवस्थापनमा देखिएको सक्रियताले प्रशिक्षण केन्द्र थप आकर्षणको केन्द्र बन्न हो ।

अहिले भलिबलमा मात्रै दैनिक ८० जनाभन्दा बढी नयाँ खेलाडीको आगमन भएको छ । त्यसैगरी पछिल्लो समय विभिन्नस्तरका प्रतियोगितामा बढी उपाधि जितेर चर्चामा आएको कुस्ती खेलका प्रशिक्षक राजेन्द्र चन्दले खेलाडी नियमित प्रशिक्षणमा आइसकेको बताए।

“कोरोनाका बेला पनि खेलाडीले घरमा पनि सामान्य तालीम गरेर बसे”, उनले भने, “कोरोना कम भएसँगै खेलाडी नियमित प्रशिक्षणमा जुटिसके ।” कुस्तीका लागि प्रशिक्षण गर्न हलको समस्या भएपछि प्रशिक्षक चन्द यतिबेला नयाँ हल निर्माणका लागि पहलरत छन् ।

“सदस्य सचिवदेखि धेरै ठाउँबाट कुस्तीको भवन बनाउन आश्वासन मिलेको छ ।” चन्दले भने, “हल नहुँदा खेलकूदको सानो कोठामा प्रशिक्षण गराउनु पर्ने बाध्यता छ ।”रासस

Skip This
Skip This
Logo