रोजगारीको अवसर सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगीहरुलाई प्रधानमन्त्रीको आग्रह

रोजगारीको अवसर सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगीहरुलाई प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।  

सोमबार काठमाडौँमा आफू निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन् । देशलाई आत्मनिर्भरतातर्फ लान उपभोग्य वस्तुहरुको ठूलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत उनले आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले जमीन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पु्र्याइने उनको भनाइ छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन गर्ने पनि उनले बताए ।  

साथै उनले बलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गरिने प्रतिवद्धता पनि जनाए । आफू सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै उनले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गर्नका निम्ति ताजा जनादेश दिन जनतालाई आव्हान गरेको बताए । समृद्धिको निरन्तरताको लागि र राजनीतिक स्थिरता सुनिश्चितताको लागि निर्वाचन आवश्यक रहेको उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताए । मन्त्री रायमाझीेले प्रचण्ड–माधव पक्ष राष्ट्रको समृद्धिका विपरित सडकमा गएको आरोप समेत लगाए ।  

Logo