स्याङ्जामा फागुन ७ देखि प्रथम आलु महोत्सव

स्याङ्जामा फागुन ७ देखि प्रथम आलु महोत्सव

केन्द्रबिन्दु
0
Shares

स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ  ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिए ।  

आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने भएको उहाँले बताए ।  

महोत्सवस्थलमा आलुको खरीदबिक्री, विभिन्न परिकार बनाएर  स्वाद दिइने लक्ष्य आयोजकको छ । “आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं” नगर प्रमुख खनालले भने, “पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगतरुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो ।”

नगरपालिकाले आलु खेतीका लागि ५० प्रतिशत अनुदानमा आलुको बीउ, आवश्यक कीटनाशक औषधि तथा तालीम दिएको थियो । दुई दिनसम्म चल्ने महोत्सवमा आलुका विभिन्न परिकारको प्रदर्शनी, आलुका परिकार बनाउने सीपकाबारेमा जानकारी गराइने तयारी भएको भिरकोट–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए ।  

“स्वादका दृष्टिले र गुणस्तरियताका आधारमा यस ठाउँमा राम्रो आलु फल्ने गरेको छ” उहाँले भने, “आलु खेतीको सम्भावना, प्रचारप्रसारका साथै यहाँको किसानको हौसला बढाउनका लागि महोत्सवले राम्रो सन्देश दिने विश्वास लिएको छु ।”

महोत्सवको तयारीका लागि विभिन्न उपसमिति बनाएर अगाडि बढिएको छ । करीब दुई सय कृषकले सामूहिक र व्यक्तिगतरुपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेका किसान रामकृष्ण अर्यालले बताए ।  

“अहिले सबै जना किसान खेतमै आलु खन्न व्यस्त हुनुहुन्छ” उनी भन्छन्, “यहाँ शुद्ध बीउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।” यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलुको खरीदबिक्री गर्न तथा आलुका विभिन्न परिकार बनाउनका लागि आयोजना गरिएको महोत्सवले थप हौसला जागेको छ ।  

भीरकोटले नगरभित्रका आलुखेती हुने ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको थियो । नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको नगरपालिकाका कृषि समिति संयोजक दीपेन्द्र क्षेत्रीले जानकारी दिए ।  

नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बीउ अनुदानमा वितरण गरेको थियो । नगरपालिकाले उक्त ठाउँमा एकै जातको मकै र धान बाली लगाउने अभियान समेत थालेको छ । रासस

Skip This
Skip This
Logo