डोटीमा अपाङ्गता परिचयपत्र वितरण

डोटीमा अपाङ्गता परिचयपत्र वितरण

केन्द्रबिन्दु
0
Shares

बडिकेदार गाउँपालिकाले ११८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।  

गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकलाई गाउँस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । “अपाङ्गता परिचयपत्र सम्बन्धी कार्यविधि बनाई गाउँपालिकाभित्र रहेका पाँच वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा छुट्टाछुट्टै राखेर परिचयपत्र वितरण गर्न थालेको हो”, गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले भने, “अहिलेसम्म ११८ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।”  

परिचयपत्र वितरण कार्यक्रम लागू गरिएसँगै गाउँपालिकाले आफ्ना सबै वडामा कर्मचारी खटाएर अपाङ्गता भएका व्यक्तिको विवरणसमेत लिने कार्य शुरु गरेको बताइएको छ । शारीरिक रुपमा अशक्त नागरिकलाई उनीहरुको पहिचानको लागि परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्र भाटले बताए । उनले भने, “स्थानीय सरकार हाम्रो साथमा छ भनेर सबैलाई अनुभूति होस् तथा सरकारबाट पाउने सेवा सुविधामा सहजता होस् भन्ने हेतुले परिचयपत्र वितरण गरेका छौँ ।”

एमबिबिएस डाक्टरको रिपोर्ट अनुसारअपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिए । गाउँपालिकामा गत माघ २७ गतेबाट शुरु गरिएको परिचयपत्र वितरण कार्यक्रमबाट हालसम्म ११८ जना अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र पाउनेमा ‘क’ वर्गका १०, ‘ख’ वर्गका ७५, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका ९ जना रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “गाउँपालिकाभित्रका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र वितरण गरिने छ ।” सरकारको नीतिअनुसार सामाजिक सुरक्षा भत्ताबापत अपाङ्गता परिचयपत्र प्राप्त गरेका ‘क’ वर्गले रु तीन हजार र ‘ख’ वर्गले रु एक हजार ६०० मासिक भत्ता पाउने छन् भने ‘ग’ र ‘घ’ वर्गले नपाउने व्यवस्था रहेको बताइएको छ ।  

यसरी परिचयपत्र प्राप्त व्यक्तिले आफ्नो विवरण वडा कार्यालयमा र गाउँपालिकामा दर्ता गरेपश्चात मात्रै सामाजिक सुरक्षा भत्ता पाउने प्रावधान रहेको गाउँपालिकाले जनाएको छ । 

Skip This
Skip This
Logo