इन्धनको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने माग गर्दै विद्यार्थीहरुले बुझाए आयल निगमलाई ज्ञापन पत्र

इन्धनको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने माग गर्दै विद्यार्थीहरुले बुझाए आयल निगमलाई ज्ञापन पत्र

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र बुझाएको हो । विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ । यस्तै आयल निगम घाटामा गएको भन्दै करोडौं रकम बाड्ने गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ ।  

दुई रंगको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमति भएको भएपनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमति कार्यान्वयन गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बिगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको भाउ वृद्धि भइरहेको बताए। आयल निगम नोक्सानमा गईरहेको अवस्था रहेकाले मूल्य वृद्धि भएको पौडेलले जानकारी दिए ।  

ज्ञापन पत्र बुझाइसकेपछि आयल निगम बाहिर भएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपनि ५÷७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताए। ४८ घण्टा भित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत तामाङले दिए ।

विद्यार्थीहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगम अगाडि नाराबाजी समेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

Logo