नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएका छन् ।
बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जीतको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिंडेको बताएका हुन् ।
नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैरकम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताकाबीचमा यसै विषयलाई लिएर जाने बताए । उनले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गरे । प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताए।
नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए। आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि बताए । कार्यक्रममा बोल्दै नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने अवसर पाएको बताए । संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने दाबी पनि गरे ।
सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफूहरुले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको तामाङले बताए । आफूहरु निर्माण र समृद्धिको पक्षमा रहेको र त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको पनि उनले बताए ।































प्रतिक्रिया