नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहेको र आवश्यक पर्दा बहुमतसिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधि निर्वाचनको घोषणा भएकामा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गरे।
प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसदमा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधान बमोजिम कारबाही गरिने उनको उद्घोष थियो ।
नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्यकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताए। उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराए। प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए ।





























प्रतिक्रिया