नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई उनले हटाउन नसक्ने दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरि समानुपातिक सांसदलाई निकाल्ने कुरा झुट र भ्रमपूर्ण रहेको बताएका हुन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए। त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए ।
पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे। निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानून र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाइ छ ।































प्रतिक्रिया