विपतको साथी बन्दै नेपाल स्काउट (भिडियोसहित)

विपतको साथी बन्दै नेपाल स्काउट (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सेवा नै धर्म हो भन्ने मूल अवधारणाका साथ निरन्तर सामाजिक कार्यमा सक्रिय संस्था हो, नेपाल स्काउट । नेपालमा वि.सं.२००९ सालमा स्थापना भएको यो संस्थाको उद्देश्य बालबालिका तथा युवावर्गलाई सफल सँगसँगै असल व्यक्ति बनाउनु हो ।

त्यही असल मानिस बनाउन स्काउटले बालबालिका तथा युवाहरुलाई स्काउटिङ्ग तथा गाइडिङ्ग गर्दै अनुशासन र समाजसेवा सिकाउँदै आएको छ । यस्तै स्काउटले विगतबाट नै विभिन्न विधामा आफ्ना सदस्यहरुलाई तालिम र जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ । यसैक्रममा नेपाल स्काउटले नुवाकोटको ककनीस्थित स्काउट क्याम्पमा एक हप्ताको विपत व्यवस्थापन तालिम सम्पन्न गरेको छ । 

प्राकृतिक विपत्ती कहाँ कति बेला के हुन्छ थाहा हुँदैन, त्यसैले पूर्वतयारीको मूलमन्त्र स्काउटको पनि मूलमन्त्र हो । आपत विपतका घटना अकस्मात नै आउँछन् त्यसैले स्काउट सधैं तयारी अवस्था रहेर सेवा प्रभाव गर्दै आएको छ । 

यसैक्रममा नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा ककनीमा विपत व्यवस्थापन तालिम आयोजना गरिएको स्काउट नेपालका बागमती प्रदेश केन्द्रीय सदस्य शिवराम अर्यालले बताए ।

६३ जना सहभागी उक्त तालिममा सातवटै प्रदेशबाट १०–१० जना स्काउट नेपालका सदस्यहरुलाई उपस्थित गराइएको थियो । यस बाहेक सातै प्रदेशका स्काउट लिडरहरु, रोवरेन्जरीहरुको समेत सहभागिता थियो । 

उक्त तालिममा आगलागी, बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपतको वास्तविक प्रदर्शनसहित विपतमा आफू कसरी बच्ने, अरुलाई कसरी बचाउने, उद्धार कसरी गर्ने भन्ने वास्तविक प्रदर्शन अथवा प्रत्यक्ष अभ्यास गराएको थियो । 

उक्त अभ्यास अथवा प्रशिक्षण कार्य स्काउटले दिउसो मात्र नभई रातमा पनि गराइएको छ । प्रशिक्षार्थीहरूलाई पहिलो पटक जङ्गलको बीचमा बसेर टनेल बनाउनेदेखि कसरी बँच्ने बचाउने अभ्यास गराएरै तालिम दिइएको अर्यालले बताए ।

तालिममा सातै प्रदेशका प्रतिनिधि सँगसँगै बाजुरा, डडेल्धुरा लगायतका जिल्लाहरुबाट पनि सहभागिता थियो । यो तालिम दिए पश्चात आ–आफ्नो क्षेत्र अथवा जिल्लामा गएर ट्रेनरको समूह बनाउने र ती समूहले अर्को चार सय जना लिडरलाई सहभागी गराउने उद्देश्य नेपाल स्काउटले लिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल स्काउटका ट्रेनर अरुण सैंजुको नेतृत्वमा तालिम सञ्चालन गरिएको थियो । यस तालिमको मूल अवधारणा विपतको बेलामा सूरक्षा फौजलाई सहकार्य गर्नका लागि समूह खडा गर्नु रहेको ट्रेनर सैंजुले बताए ।

यस्तै तालिममा आपतकालीन् दुर्घटनामा घाइते भएकाहरुलाई प्राथमिक उपचारका लागि गरिने सिपीआर विधि, खानेकुरा अड्केको अवस्थामा गरिने प्राथमिक उपचार जस्ता विभिन्न तालिमहरु प्रदान गरिएको थियो । 

Skip This
Skip This
Logo