जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको राजनीतिक संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीकै भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले शक्ति छ भन्दैमा दुरुपयोग नगर्न र अति गरे खति हुने चेतावनी पनि दिएका छन्।
उनले लेखेका छन्,
'प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिन, जानेको, सकेको गर भन्ने दम्भ, हठ प्रदर्शन गर्न मिल्दैन। हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हाेइन। बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता । अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको छ । निकास खोज्ने मुख्य जिम्मा प्रमको हो । अतिले खति गर्छ ।'
प्रधानमन्त्रीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन घोषणा गरे पनि फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
त्यसयता विभिन्न दलले प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् । तर उनले विभिन्न कार्यक्रमहरुमा राजीनामा दिन्नँ, सके हटाएर देखाऊ’ भन्दै अडान लिइरहेका छन् । आइतबार झापा पुगेका ओलीले पुनः यस्तै अभिव्यक्ति दिएका थिए ।
हाल उपचारका क्रममा नयाँ दिल्ली रहेका भट्टराईले पनि यसै विषयलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।































प्रतिक्रिया