नेता गौतमलगायत नेताहरुले लगाए कोरोनाविरुद्वको खोप

नेता गौतमलगायत नेताहरुले लगाए कोरोनाविरुद्वको खोप

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलगायत अन्य प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहिबार पनि खोप लगाइएको हो । बिहिबार खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताए । परिवार र समाजको सुरक्षाका निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनको भनाइ छ । 

सो अवसरमा नेता गौतमले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दवाव दिने समेत बताए । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको जिकिर छ । नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओली अझै पनि एकताको पक्षमा नआएको उनले बताए । 

गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा आफू लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफू उभिन सक्ने पनि उनको भनाइ छ ।

बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।

Logo