काठमाडौँमा सञ्चालन भइरहेको मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँ मेयर–११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो ।
पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो । काठमाडौँले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो । बागमतीका लागि पृथु बास्कोटाले ६० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अनिल खरेलको बलमा आउट हुनुअघि उनले ७९ बल ८ चौका प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले १७/१७ रन बनाए । आदील खानले १५ रन जोडे । पारस खड्का १० रनमा आउट भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । काठमाडौँका लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । कप्तान सन्दीप लामिछानेले ४२ रन जोड्दा सिद्दान्त लोहलीले ३४ रन जोडे । बागमतीका नन्दन यादवले ४ विकेट लिए । रामनरेश गिरि र अरियो पौडेलले २/२ विकेट लिए । जितसँगै काठमाडौँ मेयर–११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।































प्रतिक्रिया