यसरी मनाउँदैछन् व्यवसायीहरुले दशैं

यसरी मनाउँदैछन् व्यवसायीहरुले दशैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैंमा कुनै रौनक आएको छैन । नेपालीहरुको महान् चार्ड दशैं हर्साेल्सासका साथ मनाउने भएपनि यसपाली भने कोरोना भाइरसको संकटका कारण सबै निराश छन् । आफन्तहरुकोमा जाने टीका थाप्ने तथा आर्शिवाद लिने काम यसपाली हुने छैन । दशैंलाई आफन्तहरुको भेटघाटका लागि पनि महत्वपूर्ण चाडको रुपमा लिइन्छ । तर महामारीका कारण अधिकांश नेपालीहरुले आफ्नै घरमा बसेर परिवारसँग मनाउँदैछन् । उद्योग व्यवसायीले कसरी दशैं मनाउँदै छन् त ? यस विषयमा हामीले विभिन्न व्यवसायीहरुको मत जान्ने प्रयास गरेका थियौँ । प्रस्तुत छ उनीहरुसँगको कुराकानी :

भवानी राणा, अध्यक्ष (उद्योग वाणिज्य महासंघ)
अहिलेको दशैं विगतका वर्षहरुमा भन्दा अलि फरक हुन्छ । किनकी कोरोना भाइरसको संक्रमणका कारण ठूलो संख्यामा भेटघाट गर्ने, खाने पिउने, रमाइलो गर्ने कुरा भएन । यो बेलामा त कसरी आफू सुरक्षित हुन सकिन्छ भन्ने सोच्नु पर्छ । कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेकाले सबै जना त्यसबाट बच्दै दशैं मनाउनु पर्छ । मेरो कुरा गर्दा ९ दिन नै ब्रत जस्तै हुन्छ । दैनिक देवीको पूजाआजा गर्दै आफ्नै घरमा बसेर मनाउँदै छु । पहिले जस्तो चहल पहल चाँही हुँदैन ।

किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासंघ (वरिष्ठ उपाध्यक्षका उमेदवार)
यस वर्षको दशैं इतिहासमै दर्दनात्मक भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्पूर्ण नेपालीहरुलाई दशैं दर्दनात्मक भएको हो । हुन त कोरोनाको संक्रमणले विश्वका सबै मानिसहरुलाई यसरी नै दुःख दिइरहेको छ । अहिले कोरोना नियन्त्रण भन्दा बाहिर गएको छ । कतिखेर कसलाई के हुन्छ भन्ने थाहा छैन । जताजतै डर र त्रास मात्रै छ । सरकारले पनि नियन्त्रण गर्न सकिएन भन्दै आत्मसमपर्ण नै गरेको छ । यस्तो डर र त्रासका विच भित्रिएको दशैं पक्कै पनि हर्साेल्लासका साथ मनाउन सक्ने अवस्था हुँदैन । कोरोना संक्रमणका कारण आफन्तहरुसँग टिका लगाउने तथा आर्शिवाद लिने/दिने गर्न पनि सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा कसरी राम्रोसँग दशैं मनाउन सकिएला र ?

मैले अधिकांश व्यवसायीहरुसँग बुझ्दा सबैले घरमा आफ्ना परिवारहरुसँग मात्रै बसेर मनाउने ,आफू अरुकोमा पनि नजाने र अरु कसैलाई पनि आफ्नो घरमा नबोलाउने गरी दशैं मनाउने योजना बनाएको बताएका छन् । आफ्ना दिदी बहिनी, भान्जा भान्जी, आफन्त नातागोता कसै, कहाँ पनि जान आउन नपाएपछि यो जस्तो दर्दनात्मक अवस्था के हुन सक्छ र ? त्यसैले कोही पनि घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । घरमा कुनै न कुनै परिवारका सदस्यहरुलाई इन्फेक्शन भइरहेको कुरा सुनिन्छ । त्यसैले आफ्नो ज्यान बचाउन पनि घरबाट बाहिर निस्किने अवस्था छैन । कोरोना संक्रमणका कारण ब्यापार व्यवसाय संकटमा परेका बेला व्यवसायीलाई दशैंले खासै उत्साह दिएको छैन । मेरो व्यक्तिगत कुरा गर्दा पनि अवस्था त्यहि नै हो । घरपरिवारसँग मात्रै बसेर दशैं मनाउने योजनामा छु ,म पनि । आफन्तहरुको पनि नजाने र अरुलाई पनि नबोलाउने योजनामा छु ।

कृष्णप्रसाद दुलाल, अध्यक्ष, (नाडा)
यस वर्षको दशैं मनाउन पनि गाह्रै छ । सबैले सुरक्षित भएर मनाउनु पर्छ । मेरो घर विराटनगर हो । म पनि विराटनगरमा छु । घरमा आमा हुनुहुन्छ । आमासहित परिवारसँग सुरक्षित तरिकाले मनाउने सोचमा छु । आफन्तहरुसँग भेटभाट हुँदैन । कसैलाई पनि भेट्न जाने टिका लगाउने लगायतका काम यसपाली नहुने भएकाले हामीसँग खाली समय पनि हुन्छ । त्यो खाली समयमा विभिन्न लेखकहरुका पुस्तकहरु अध्ययन गर्ने योजना बनाएको छु । यो समयमा अध्ययन गर्न ५÷७ वटा पुस्तकहरु ल्याएको छु । ती पुस्तकहरु अध्ययन गर्छु । लकडाउनका बेला पनि मैले धेरै पुस्तक पढेको थिएँ । मैले पढिसकेका करिब ५० वटा जति पुस्तकहरु मैले पुस्तकालयलाई दान पनि गरेको छु ।

नरेश कट्वाल, अध्यक्ष (नेपाल राष्ट्रिय साना व्यवसायी महासंघ)
कोरोना भाइरसको संक्रमणमा कारण यसवर्षको दशैं कसैलाई पनि राम्रो हुन्छ र हर्साेल्लासका साथ मनाइन्छ भन्ने लाग्दैन । किनकी कोरोना संक्रमणका कारण त्यसको न्युनिकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सो बेलादेखि साना तथा ठूला व्यवसायहरु ठप्प भए । मुलुकको अर्थतन्त्र चौपट भयो । कयौँ कामदारको रोजगारी गुम्यो भने कयाै‌ँ कामदारको तलब कटौती भयो । कति व्यवसायहरु धान्न नसकेर पलायन भए । यस्तो अवस्थामा चाडवार्डहरु भित्रिएका छन् ।

कसैको पनि विगतमा जस्तो आम्दानी छैन । दशैंमा राम्रो व्यापार गर्ने र उत्साहका साथ दशैं मनाउने योजना यसपाली तुइएको छ । त्यसैले सबैको दशैं सामान्य नै हुन्छ भन्ने लाग्छ । एकातिर आर्थिक संकट अर्कातिर महामारीका रुपमा फैलिरहेको रोग सर्ला भन्ने डर । आफ्ना परिवारहरु बाहेक अरुसँग भेटघाट हुन पनि डर त्रास नै छ । त्यसकारण आफ्नै घरमा बसेर परिवारका साथ दशैँ मनाउँदैछु । कोरोना संक्रमणले ल्याएको संकटका कारण व्यवसायमा जुन संकट आयो , त्यसले कोही पनि व्यवसायीले हर्साेल्लासका साथ दशैं मनाउने अवस्था छैन ।

Skip This
Skip This
Logo