भारतीय गुप्तचर संस्थाका प्रमुख गोयलले भेटे प्रधानमन्त्री ओलीलाई

भारतीय गुप्तचर संस्थाका प्रमुख गोयलले भेटे प्रधानमन्त्री ओलीलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटेका हुन् । भेटका क्रममा नेपाल–भारत बीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाको भनाइ छ । सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ–‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।’

त्यस्तै भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख गोयल आफ्नो छोटो भ्रमण सकेर बिहीबार भारत फर्किएका छन् । गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा आएका थिए । गोयल सोही विमानमा बिहीबार बिहान फर्किएका हुन् । उनी नेपाल किन आए भन्ने विषयमा उच्च तहबाट खुलाइएको छैन् । यहि कार्तिक महिना मै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउन लागेका छन् । नेपालले केही समय पहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग समावेश गर्दै नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । लामो सयमदेखि भारतीय पक्षको कब्जामा रहेको नक्सा सार्वजनिक गरेपछि भारतीय सेनाध्यक्ष नरवणेले चिनियाँ पक्षको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै उनको नेपालका चर्को आलोचना भएको थियो । त्यसैले उनी नेपाल भ्रमणमा आउनु अघि गोयलको नेपालको अवस्था बुझ्न भ्रमण गरेको हुन सक्ने आँकलन गरिएको छ ।

गोयलको भ्रमणका सम्बन्धमा नेपाली सुरक्षा संयन्त्रलाई कुनै जानकारी दिइएको छैन् । परराष्ट्र मन्त्रालयले पनि गोयलको भ्रमणबारे केही बोलिसकेको छैन् । तर परराष्ट्रले नै कूटनीतिक अनुमति दिएपछि कूटनीतिक उडानका लागि नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेखिएको थियो । सोही पत्रका आधारमा नेपाल उड्डयन प्राधिकरणले उनी आउने वातावरण मिलाएको हो । दुई देश बीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च भ्रमण भएको थिएनन् । गोयल यसअघि पनि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् । भारतीय दूतावासले गोयल नेपाल भ्रमणमा आएको बारेका केही उल्लेख गरेको छैन् । गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचार विवरण सार्वजनिक भएको थियो । उक्त विवरण सार्वजनिक भएपछि दाहालको सचिवालयले त्यसको विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ ।

Logo