‘उद्योगीहरुको समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने’

‘उद्योगीहरुको समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने’

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन्। 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंक सम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ती समस्याहरुलाई समाधान गर्नका निम्ति उद्योग वाणिज्य महासंघले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन्। 

उनले उद्योगीहरुको श्रम सम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समूह बनाएर कानूनी परामर्श तथा सहयोग उपलब्ध गराउने पनि बताए । 

अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण लिनका लागि महासंघले सहजीकरण गर्ने पनि बताए। यसको निम्ति बैंक एशोसिएसनसँग सम्झौता भएको पनि उनको भनाइ छ। त्यस्तै व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयासस्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि उनले जानकारी दिए ।

यस्तै अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए। उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको बताए। त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकास लगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ।

Skip This
Skip This
Logo