ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिनुभयो । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।
गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ। चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।
ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दुर्घटनामा थप एकको मृत्यु
कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो। मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुर्घटनामा तीन प्रहरीसमेत घाइते भएका छन् । उनीहरूमध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए। उनले भने, “२१ यात्रुमध्ये दुई जनाको मृत्यु भइसकेको छ । सुर्खेत पठाइएका ११ मध्ये दुईको अवस्था गम्भीर छ। तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नंको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। माइक्रोबस तीव्रगतिमा हुँदा अनियन्त्रित भई राजमार्गबाट १०० मिटर तल खसेको थियो । बसमा कालीकोटबाट २१ यात्रु सवार थिए।रासस































प्रतिक्रिया