बिहीबार सैनिक कू विरुद्घ भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको हो ।
सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’ विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार बिहीबार मात्रै म्याइङ्ग अस्पतालका डाक्टरले ६ जनालाई मृत घोषणा गरेका छन् । एक प्रदर्शनकारीको पनि अस्पतालमा नै मृत्यु भएको जनाइएको छ ।
म्यानमारका स्थानीय मानवअधिकारवादी संगठनअनुसार प्रदर्शनका क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।
म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ ।
गत फेब्रुअरी १ मा म्यानमारको सेनाले जनप्रतिनिधिहरुलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेको थियो । सत्ता कब्जापछि त्यहाँ दैनिक प्रदर्शनहरु भइरहेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रदर्शनकारीहरुमाथि भइरहेको हिंसाको आलोचना गर्दै त्यहाँका सेनाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ ।
यसैबीच, म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) अनियमितता गरेको आरोप लगाएका छ । यद्यपि, यी आरोपमाथि सेनाले कुनै पनि प्रकारको प्रमाण भने पेश गर्न सकेको छैन ।
म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सूकीले अनियमितता स्वीकार गरेको सेनाले दाबी गरेको छ । फेब्रुअरी १ तारिखमा म्यानमारको सैन्य शासकले सत्ता कब्जा गरेपछि आङ सान सूकीलाई नजरबन्दमा राखिएको थियो ।































प्रतिक्रिया