‘कान्छो धौलागिरि’ मा नौ देशका झण्डा फहराइयो

‘कान्छो धौलागिरि’ मा नौ देशका झण्डा फहराइयो

केन्द्रबिन्दु
0
Shares

‘कान्छो धौलागिरि’ दारेगौँडा पहाडमा नौ देशका राष्ट्रिय झण्डा फहराइएको छ। बागलुङ, काठेखोला गाउँपालिका–२ भीमापोखरा, डोहेरी गाउँ नजीकैको सो पहाडमा पुग्ने स्वदेशी तथा विदेशीलाई आफ्नोपनको महसुस गराउने उद्देश्यले सार्कमुलुकसहित नौ देशका झण्डा फहराइएको हो । 

सो को प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि स्थानीय युवाले समूह बनाएका छन्। युवाको सक्रियतामा पुष्पाञ्जली ग्रामीण विकास केन्द्र स्थापना भएको छ। आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि राष्ट्रिय झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए। झण्डोत्तलनपछि अब सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षणमा पर्नेछ । 

छोटो पर्यटक पदमार्गमार्फत पुग्न सकिने र प्रकृतिसँग मज्जा लुट्न सकिने सो ठाउँमा पुग्न सार्वजनिक बिदा र छोटो फुर्सदको समय छुट्याए मात्रै पुग्छ। केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीका अनुसार हिमालका आँगनमा बसेर मकै, भटमास खानेलाई सो ठाउँ स्वर्ग जस्तो लाग्छ । 

पहाड नजीकै सानो सुन्दर बस्ती छ। त्यही सुन्दर बस्तीमाथि सेताम्य हिमशृङ्खला हेर्न सकिने मनमोहक डाँडा दारेगौंडा छ । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको सो डाँडा समुद्री सतहदेखि करीब दुई हजार ५०० मिटर अग्लाइमा छ। कान्छो धौलागिरिबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाको चाप पनि बढ्दैछ। उच्च भागमा रहेको समथर भाग आफैंमा सुन्दर त छ नै, त्यसमाथि त्यहाँबाट देखिने करीब ११ जिल्लाका भूभाग अनि साविक धौलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुश्मा बजारको मनमोहहक दृष्य देखिन्छ।

आँखै अगाडि देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायत दर्जन हिमशृङ्खलाको त्यहाँबाट सजिलै अवलोकन गर्ने सकिन्छ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि पहाडले तान्छ । हिम पहाडका लागि अत्युत्तम स्थान भएकाले नै दारेगौंडालाई अहिलेका युवाले कान्छो धौलागिरिको उपमा दिएका हुन् ।

उनीहरुका अनुसार दारेगौंडालाई अब कान्छो धौलागिरिका नामबाट संसारभर चिनाइने तयारी थालिएको छ। जङ्गलका चराचुरुङ्गीको आवाज सुन्दै हिमशृङ्खलाको आँगनमा रमाउन चाहने पर्यटकको रोजाइमा यो ठाउँ पर्नेछ । प्राकृतिक छटाले परिपूर्ण सो क्षेत्र पर्यटन विकासमा पर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालिसकेको छ ।

पर्यटनको प्रचूर सम्भावना बोकेको सो क्षेत्रको प्रचारप्रसार तथा पर्यटक आकर्षण गर्न स्थानीय पुष्पाञ्जली ग्रामीण विकास केन्द्र लागिपरेको छ । यही क्लबले महाशिवरात्रिका अवसरमा सार्क राष्ट्रसहित नौ देशको झण्डा फहराएको छ । वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ, बङ्गलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिए । 

बागलुङ सदरमुकामदेखि करीब २६ किलोमिटर सडक यातायातपछि करीब एक घण्टाको पैदल यात्रामार्फत कान्छो धौलागिरि पुग्न सकिन्छ। डोहेरी बस्तीसम्म कच्ची सडकले जोडिएको हुँदा जङ्गल क्षेत्रमा पर्यटन पदमार्गबाट पुग्न सकिन्छ । यहाँ व्यवस्थित पदमार्ग निर्माण गरेर म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यका रुपमा विकास गर्न सबै जुट्नु पर्ने स्थानीयवासीको माग छ। “यो कान्छो धौलागिरि नयाँ पर्यटन गन्तव्य हो, चिसो हावापानीमा अर्गानिक उत्पादनको स्वाद लिएर हिमशृङ्खलाको अवलोकन गर्न योभन्दा अर्को उपयुक्त क्षेत्र पहिचान हुन मुश्किल छ”, निवर्तमान अध्यक्ष केसीले भने।

महिलालाई लोकसेवा तयारी कक्षा

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा सुरु भएको छ । महिलालाई राज्यको अङ्गमा समानरुपमा पुर्याउने लक्ष्यले दशवटै पालिकाबाट ३५ महिलालाई तालीम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो । 

आर्थिकरुपमा विपन्न, सामाजिकरुपमा पछि परेका, दलित र जनजाति महिलालाई सो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए। तालीमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको छ । 

यस्तो प्रकारको तालीमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना विश्वकर्माले बताइन् । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा उत्तीण गर्ने पनि उनले विश्वास व्यक्त गरिन्। 

“परीक्षाको तयारी, कक्षा र लेख्ने पद्धतिबारे हामीले तालीममा सिक्ने छौँ”, उनले भने, “परीक्षाको प्रक्रिया नबुझेकाले यसअघि सहभागी पनि बन्न सकेका थिएनौँ ।” उनी जस्तै सहभागीले पहिलोपटक निःशुल्क र लक्षित समुदायमा पुगेको तालीमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए । 

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले दुई लाख ८० हजार बजेट विनियोजन गरेपछि तालीम सञ्चालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । यसअघि छिटफुटरुपमा सङ्घसंस्था र ट्युसन सेन्टरले चलाएको तालीम औपचारिकरुपमा सरकारी निकायबाटै थालिएको हो।रासस

Skip This
Skip This
Logo