नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधानमा रहेको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी सात प्रदेशका इन्चार्ज र केहीमा पदाधिकारी समेत परिवर्तन गरेको हो ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व एमालेमा प्रदेश कमिटी नभएर अञ्चल कमिटी रहेको र त्यसलाई परिवर्तन गर्नका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गरिएको छ ।
अब पार्टी नै नयाँ भएको र एमालेको विधानको अञ्चल कमिटी संशोधन गरिएको नेताहरुको भनाइ छ । अझै कार्यविभाजन गर्न बाँकी रहेको एमाले नेताहरूले जानकारी दिएका छन् । शुक्रबारको कार्यविभाजन सुरुवाती चरणमात्रै रहेको उनीहरुको भनाइ छ ।
बैठकले प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज र माओवादी केन्द्र छोडेर ओलीको पक्षमा लागेका प्रभु शाहलाई प्रदेश अध्यक्ष बनाइएको छ ।
बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् । लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल छन् भने यमलाल कँडेललाई इन्चार्ज, मणि थापालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट भीमबहादुर रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा रामबहादुर थापा पक्षका नेताहरूलाई मनोनयन गरिएको छ । जसमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाह, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, चन्द्रबहादुर खड्का रहेका छन् ।
यसरी जिम्मेवारी पाउनेमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरू रहेका छन् । त्यस्तै माधवकुमार नेपाल पक्ष सहभागी नरहेको बैठकले उनीनिकट नेताहरूको जिम्मेवारी समेत खोसेको छ । जिम्मेवारी खोसेसँगै माधव पक्षले आकस्मिक बैठक बोलाएको थियो ।





























प्रतिक्रिया