हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधानमा रहेको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी सातै प्रदेशका इन्चार्ज र केहीमा पदाधिकारी समेत परिवर्तन गरेको हो । त्यस्तै माधवकुमार नेपाल पक्ष सहभागी नरहेको बैठकले उनीनिकट नेताहरूको जिम्मेवारी समेत खोसेको छ। जिम्मेवारी खोसेसँगै माधव पक्षले आकस्मिक बैठक बोलाएको थियो ।
जनता समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गर्ने गरी दाबेदारी प्रस्तुत गर्नेबारे छलफल गरेको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको अडान समेत लिएका छन् । बैठकपछि जसपाले नेपाली कांग्रेससँग पनि छलफल गरेको छ । छलफलमा मिलेर जाने कुरा भएको जसपाले जनाएको छ । त्यस्तै माओवादीसँग पनि छलफल गर्ने जसपाको तयारी छ ।
मेयर्स कप एक दिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार एपिएफ र नेपाल पुलिस भिड्दैछन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको प्रिम्याच कन्फ्रेन्समा कप्तानद्वय मञ्जित श्रेष्ठ र शरद भेषवाकरले उपाधि जित्नु नै आफूहरुको लक्ष्य रहेको बताएका छन् । अन्तिम खेल शनिबार हुँदैछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिकतम प्रयास गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै उनले कैयौँ प्रकारका द्वन्द्व तथा हिंसाहरुलाई झन् बढाउने काममा कोभिड १९ को महामारीले इन्धनको काम गरेको बताए । उनले द्वन्द्वका कारण खोजेर तिनलाई निर्मूल गर्ने गरि काम गर्नुपर्ने समेत जिकिर गरे ।
विभिन्न सांसद तथा सरोकारवालाहरुले सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्र्याउन लागेकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समतिको बैठकमा बोल्दै उनीहरुले सानो प्वालबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै विदेशी लगानी स्वीकार्य नहुने भने बताए । बैठकमा कतिपयले भने विदेशी लगानीमा कोटा निर्धारण गर्नुपर्ने तर्क राखेका थिए ।































प्रतिक्रिया