केन्द्रबिन्दु बुलेटिन : एमालेको किचलो थप उचाईमा, आ-आफ्नै रणनीतिमा ओली-नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : एमालेको किचलो थप उचाईमा, आ-आफ्नै रणनीतिमा ओली-नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सर्वोच्च अदालतले सत्तारुढ नेकपाको औपचारिक अवसान भएको घोषणासँगै नेपाली राजनीति नयाँ कोर्षमा अघि बढी रहेको छ । विशेष गरेर नेकपा एमाले र माओवादी केन्द्र आ–आफ्ना हिसाबमा अघि बढिरहेका छन् । यद्यपि यी दुई दल भित्रको आन्तरिक मतभेद, दलिय तथा सत्ता समीकरणको किचलो भने झनै पेचिलो बन्दै गएको छ । माओवादी केन्द्र  दलको नाम नै परिवर्तन गरि नयाँ गठबन्धनको तयारीमा देखिन्छ भने, एमालेभित्र केपी पक्ष र माधव पक्षको टकरावले चर्को रुप लिंदै गएको छ । यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन विपक्षीहरूलाई पुनः चुनौती दिएका छन् । उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको प्रष्ट पार्दै ओलीले माधव–खनाललाई पार्टीकै काममा लाग्न समेत सुझाएका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ । शनिबार काठमाडौंमा बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले सातै प्रदेशमा इन्चार्ज र विभागीय प्रमुख तोकेको हो । शुक्रबार केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । त्यसको विरोधमा शनिबार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह र दावा लामा सरकारमा सहभागी भएका छन् । 

काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि पुलिसले क्लबले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार प्राप्त गरेको छ । 

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो । सेवा सात वटै प्रदेशका २४ वटा अस्पतालहरुमा सुरु भएका छन् । 

Skip This
Skip This
Logo